जय नेपाल पार्टीले अघि सार्‍यो संविधान संशोधनका ८ बुँदे संकल्प

Yangle News
Yangle News
२०८३ कार्तिक ३० गते
जय नेपाल पार्टीले अघि सार्‍यो संविधान संशोधनका ८ बुँदे संकल्प

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहितका आठ बुँदे संकल्पलाई अभियानका रूपमा जनतामाझ लैजाने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष डा. धवलशम्सेर राणाको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले संविधान संशोधनको लक्ष्यसहित सार्वजनिक गरिएका आठ बुँदे संकल्पलाई अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो ।

पार्टीले सुदृढ राष्ट्रियता र सार्थक प्रजातन्त्रका लागि संविधान संशोधन, बढ्दो महँगी नियन्त्रण, संवैधानिक राजसंस्थासहितको सनातन हिन्दु अधिराज्य स्थापना तथा धर्मान्तरण र गौहत्यामा प्रतिबन्ध लगाउने विषयलाई संकल्पमा समेटेको छ ।

त्यस्तै, युवा तथा महिलामैत्री आर्थिक विकास, प्रविधिमा आधारित समुन्नत नेपाल निर्माण, बैंक तथा सहकारी पीडितलाई न्याय, स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउने र प्रदेश संरचनाबारे जनमत संग्रह गर्ने विषय पनि संकल्पमा समावेश छन् । विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयलाई समेत पार्टीले प्राथमिकतामा राखेको छ ।

बैठकले दसैँ, तिहार र छठका कारण स्थगित जिल्ला कार्यसमिति गठन प्रक्रिया पुनः सुचारु गर्ने निर्णय गरेको छ । गठन हुन बाँकी जिल्लामा प्रक्रिया तीव्र बनाउने तथा आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीबाट उम्मेदवार बन्न इच्छुक सक्षम र ऊर्जावान् व्यक्तिलाई सम्पर्कमा आउन आह्वान गर्ने निर्णयसमेत गरेको छ ।

त्यसैगरी, देशका ७७ वटै जिल्लाबाट सम्भावित उम्मेदवारको नामावली संकलन गरिने पार्टीले जनाएको छ ।

बैठकले केन्द्रीय कार्यसमिति सदस्य, सम्मानित सल्लाहकार समिति सदस्य तथा कोशी प्रदेशको इन्चार्ज र संयोजकसमेत मनोनयन गरेको छ ।

स्थानीय तह निर्वाचन गैरदलीय रूपमा सञ्चालन गर्नुपर्ने मागबारे जनस्तरको राय संकलन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन प्रदेश इन्चार्ज तथा संयोजकहरूलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी, अर्को व्यवस्था नभएसम्म पार्टीको प्रचारप्रसार विभागको जिम्मेवारी केन्द्रीय सचिवालय मातहत राख्ने निर्णय गरेको सचिवालय प्रमुख सगुन सुन्दर लावतीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Yangle News