ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०\१० लाख रुपैयाँ राहत दिने भएको छ ।
त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । शनिबार बसेको मन्त्रिपरिषद बैठकले बालकुमारी घटनामा मारिएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०\१० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
पानी जहाज निर्माणका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको थियो । मन्त्रिपरिषद बैठकले घटनामा घाइते हुनेहरुको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी बताइन् । त्यस्तै सरकारले घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने र सुरक्षा निकायलाई सतर्क,संयमित र प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।
यस्तै, सकारले घटनाको छानबिनका लागि बनाइएको समितिको प्रतिवेदन नआउँदासम्म घटनासँग सम्बन्धित अधिकारीहरूलाई निलम्बन गरिएको जनाएको छ । बेरोजगार युवाहरू मारिएको भन्दै शनिवार पनि काठमाण्डौँ, ललितपुर र सुर्खेत लगायतका ठाउँमा प्रदर्शनहरू भएका छन् ।