फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लिँदै ८७औं स्थानमा पुगेको छ ।
यो नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता हो । यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको रेकर्ड थियो । नेपालले भर्खरै सम्पन्न महिला एसियन कप छनोटमा श्रीलंका र लाओसलाई हराउँदा उज्बेकिस्तानसँग बराबरी खेलेको थियो । यस प्रतियोगितापछि नेपालको वरियतामा ठुलो सुधार आएको हो ।
साफ मुलुकमध्ये भारत ६३ स्थानमा छ । २४ स्थान माथि उक्लँदै बंगलादेश १०४ स्थानमा पुगेको छ भने पाकिस्तान १५४, श्रीलंका १६१, भुटान १६३ र माल्दिभ्स १६५ स्थानमा छ । अफगानिस्तान भने वरियतामा समावेश छैन ।
फिफा वरियताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने अमेरिका दोस्रोमा झरेको छ । स्वीडेन, इंग्ल्याण्ड र जर्मनी क्रमशः तेश्रो, चौथो र पाँचौ स्थानमा छन् । फिफामा आवद्ध २ सय ८ देशमध्ये ८ टोली वरियतामा समावेश छैनन् । एसियाली राष्ट्रमध्ये नेपाल १६औं स्थानमा छ । जापान शीर्षस्थानमा छ । त्यसपछि दोश्रो, तेश्रो, चौंथो र पाँचौ स्थानमा क्रमशः उत्तर कोरिया, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया रहेका छन् ।
पुरूषतर्फको वरियतामा भने फिफामा आवद्ध दुई सय ११ देशमध्ये एक स्थान खस्कँदै नेपाल १ सय ७५औं स्थानमा छ ।