नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत चौथो श्रृंखलाका खेलहरू खेल्दैछ । नेपालले आजदेखि स्कटल्यान्डमा सुरु हुने यस शृंखलामा घरेलु टिम स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग दुई-दुई खेल खेल्नेछ ।
यसअघि लिग २ अन्तर्गत १२ खेलमा मात्र ६ अंक जोड्न सफल नेपाल हालः ८ टोली सहभागी लिगको अंक तालिकाको पुछारमा छ । यो शृंखला नेपालका लागि अवे (विदेशी) मैदानमा अंक बटुलेर तालिकामा सुधार ल्याउने महत्वपूर्ण अवसर हो ।
अघिल्ला तीन शृंखलामा नेपालको प्रदर्शन सन्तोषजनक थिएन । तर, नयाँ खेलाडी र नयाँ प्रशिक्षकसहित टिमले यसपटक सकारात्मक नतिजा ल्याउने अपेक्षा गरिएको छ । प्रशिक्षक स्टुअर्ट लका लागि पनि यो शृंखला रणनीतिपूर्ण प्रयोगको अवसर हुनेछ । दक्षिण अफ्रिकाबाट ल्याइएको नयाँ सल्लाहकार प्रशिक्षकको सहयोगले पनि रणनीतिमा फेरबदल आउने विश्वास लिइएको छ ।
नेपालले यसपटक पाँच जना पेस बलरलाई समेटेर शृंखलामा सहभागी भएको छ, जसबाट टिमलाई फाइदा हुने अपेक्षा छ । नन्दन यादव नयाँ पेस बलरका रूपमा टोलीमा समावेश भएका छन् । अष्ट्रेलियामा क्रिकेट खेलिरहेका उनले हङकङविरुद्धको टी-२० सिरिजबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । स्पिन विभागमा सन्दीप लामिछाने र ललित राजवंशीले प्रभाव जमाउने अपेक्षा गरिएको छ ।
नेपालको ब्याटिङ सधैं चुनौतीपूर्ण रहँदै आएको छ । तर, स्कटल्यान्ड जानुअघि युकेमा भएका अभ्यास खेलमा मध्यक्रमका भीम सार्की र आरिफ शेखले राम्रो लय समातेका छन् । घाँसे पिचमा देखिएको प्रदर्शनका आधारमा केही हदसम्म सुधारको आशा गर्न सकिन्छ ।
ओपनिङ जोडीको सुरुआत र शीर्षक्रमका चार ब्याटरको निरन्तरता टिमको सफलता तय गर्नेछ । पिचको अवस्था बुझ्न नेपालले स्कटल्यान्ड ‘ए’विरुद्ध एउटा अभ्यास खेल पनि अर्को खेल वर्षाका कारण रद्द भएको थियो ।
नेपालका बलरहरू १०औं ब्याटिङ क्रमसम्म टिक्नसक्ने क्षमतायुक्त छन् । सुरुआतमा संयमता अपनाउन सके ब्याटिङ समस्या समाधान हुन सक्छ । सोमपाल कामी, करण केसी र नन्दन यादवको त्रिकोणात्मक बलिङ संयोजनसँगै गुलशन झा र बायाँ हाते पेसर रिजन ढकालले पनि राम्रो योगदान दिने सम्भावना छ ।
स्कटल्यान्ड भ्रमणअघिको तयारीस्वरूप नेपालले युकेमा चारवटा काउन्टी क्लबसँग अभ्यास खेल खेल्यो । कार्डिफको न्यू पोर्ट, एमसीसी, ग्लामोर्गनसँग एकदिवसीय खेल र ग्लोसेस्टरशायरसँग टी-२० खेल खेल्दै सबैमा अपराजित रह्यो । युकेको अभ्यासले नेपाली टिमलाई त्यहाँको पिच र मौसम बुझ्न सघायो । विशेष गरी मध्यक्रमका ब्याटरहरूले रन बनाउन सफल भएपछि टिमको आत्मविश्वास बलियो बनेको छ ।
उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि चुनौतीपूर्ण शृंखला भए पनि अभ्यास सन्तोषजनक भएको र टिमले शतप्रतिशत दिने बताए । ‘नयाँ प्रशिक्षकसँग अभ्यास राम्रो भएको छ । स्कटल्यान्डमा चुनौती भए पनि हामी तयार छौं,’ उनले भने ।
नेपालले हालसम्म लिग २ मा १२ खेल खेलेको छ, जसमा २ जित, ८ हार र २ खेल नतिजाविहीन रहे । पहिलो शृंखलामा घरेलु मैदानमा नेपालले नेदरल्यान्ड्ससँग १ जित हात पारेको थियो भने नामिबियासँग दुवै खेलमा पराजित भएको थियो ।
सेप्टेम्बरमा क्यानडामा सम्पन्न दोस्रो शृंखलामा ओमान र क्यानडासँग भएका खेलमा नेपाल कुनै जित निकाल्न सकेन । तेस्रो शृंखला अमेरिकामा भएको थियो । नेपालले स्कटल्यान्डलाई एक खेलमा हराएको थियो भने अमेरिकासँग दुवै खेलमा हार व्यहोरेको थियो । स्कटल्यान्डसँगको अर्को खेल वर्षाका कारण हुन सकेन ।
हालको शृंखलामा चार वटै खेल जितेमा नेपाल १४ अंकसहित छैटौं स्थानमा पुग्नेछ । नेपालले कम्तीमा २ वा ३ खेल जित्न सक्यो भने तालिकामा उल्लेखनीय सुधार गर्न सक्नेछ । कम्तीमा १ खेल जिते पनि पुछारको स्थानबाट माथि उठ्ने सम्भावना रहन्छ । त्यसैले, यो शृंखला नेपालका लागि चुनौती मात्र नभई महत्त्वपूर्ण अवसर पनि हो ।