‘स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्य स्थापना नभएसम्म हतियार बिसाउँदैनौं’

Yangle News
Yangle News
२०८२ साउन १८ गते
‘स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्य स्थापना नभएसम्म हतियार बिसाउँदैनौं’

हमास समूहले प्यालेस्टाइनलाई स्वतन्त्र र सार्वभौम राज्यको मान्यता नदिएसम्म हतियार नबिसाउने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टीभ विटकोफले हमासले हतियार छोड्न तयार भएको टिप्पणी गरेपछि हमासले यस विषयमा प्रतिक्रिया दिएको हो ।

हमासले आफ्नो प्रतिरोधको अधिकार सुरक्षित राख्ने बताएको छ । इजरायलले गाजा आक्रमण अन्त्यका लागि हमासको निसस्त्रीकरणलाई मुख्य शर्त बनाएको छ । हालै इजरायल र हमासबीच बन्धक रिहासहित युद्धविरामका लागि अप्रत्यक्ष वार्ता रोकिएको छ ।

यता बेलायत, फ्रान्स, क्यानाडालगायत केही पश्चिमी देशहरूले प्यालेस्टीनलाई मान्यता दिने तयारी गरिरहेका छन् । यसैबीच, इजरायली सेनाका जनरल आयल जामिरले वार्ताबाट बन्धकहरू मुक्त नभएमा गाजामा युद्ध जारी रहने चेतावनी दिएका छन् ।

जारी इजरायली आक्रमणका कारण गाजामा खाद्यान्न आपूर्ति नहुँदा भोकमरीबाट दैनिक दर्जनौं बालबालिकाले ज्यान गुमाइरहेका छन् । गाजामा मानवनिर्मित भोकमरी फैलिएको भन्दै संयुक्त राष्ट्रसंघले गम्भीर चिन्ता व्यक्त गरिसकेको छ ।