आन्दोलनरत पक्षलाई वार्ताका लागि सेनाको आह्वान

Yangle News
Yangle News
२०८२ भदौ २४ गते
आन्दोलनरत पक्षलाई वार्ताका लागि सेनाको आह्वान

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् ।

मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो । त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु ।’ उनले हालै देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति प्रकट गरेका छन् ।

प्रधानसेनापति सिग्देलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको बताएका छन् । उनले भने, ‘नेपालको इतिहासले साक्षी बसेको जस्तो, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहन्छ ।’

सिग्देलले आन्दोलनका कारण राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक तथा नागरिक सम्पत्ति, आमनागरिक, मित्र राष्ट्रका कूटनीतिक नियोग तथा सरोकारवालाको सुरक्षामा प्रतिकूल असर नपार्ने कुरामा जोड दिए । उनले मातृभूमि र देशको जयगान गर्दै राष्ट्रिय सद्भाव र एकताका लागि सबैलाई एकसाथ अगाडि बढ्न आग्रह गरेका छन् ।