चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा १ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ०.४ प्रतिशतले वृद्धि भएको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा कुल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ०.६ प्रतिशतले कमी आएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, १४.१ प्रतिशत र २०.५ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चामल/धान, कोइला, रासायनिक मललगायत वस्तुको आयात बढेको छ भने हट रोल्ड सिट इन क्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहनलगायत वस्तुको आयात घटेको छ ।
समीक्षा अवधिमा निर्यातआयात अनुपात १६.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ अर्ब ९८ करोड रुपैयाँ बराबर भएको थियो ।
यस्तै, चालु आवको पहिलो महिनामा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ९.६ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६.७ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५. २ प्रतिशत र १.४ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैंची, जुटका सामानलगायत वस्तुको निर्यात बढेको छ भने जिंक सिट, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पिना, चियालगायत वस्तुको निर्यात घटेको छ ।