चार शहरमा नेपथ्यको कन्सर्ट घोषणा

Yangle News
Yangle News
२०८२ माघ १९ गते
चार शहरमा नेपथ्यको कन्सर्ट घोषणा
फाइल तस्बिर। (श्रोत: नेपथ्यको फेसबुक पेज)

यो वर्ष दुइपटक गरेर स्वदेश यात्रा तय गर्न लागेको नेपथ्यले पहिलो चरण अन्तर्गत फेब्रुअरी चार तारिख (माघ २१ गते) देखि चार शहरमा कन्सर्ट घोषणा गरेको छ ।

यात्राको सुरुवात २१ गते बुधबारको साँझ हेटौंडाबाट हुनेछ । शहरको मध्यभागमा अवस्थित भुटनदेवी माध्यमिक विद्यालयको प्रांगणमा यो सिजनकै पहिलो नेपथ्य कन्सर्ट आयोजित हुनेछ । अघिल्लोपटक तीन वर्षअघि मानवसेवामा समर्पित भइ देशदौडाहा गर्दा पनि ब्याण्डले यो विद्यालय प्रांगणलाई आफ्ना लोक-रक सुनाउनका निम्ति रोजेको थियो । यसपटक भने विद्यालयकै भैरव रोडसँग जोडिनेतर्फको मैदानमा नेपथ्य कन्सर्ट आयोजना हुँदैछ । द्वन्द्वकालका बेला शान्तिको आवाज लिएर पनि यो ब्याण्ड यस सहरमा पुगेको इतिहास छ ।

हेटौंडा पछिको प्रस्तुती भने बुटवलमा आयोजना हुनेछ । ‘रोज डे’ अर्थात् गुलाफ आदानप्रदानको साँझ माघ २४ गते रामनगरस्थित ‘बुटवल इन्टरनेशनल कन्भेन्सन सेन्टर’मा ब्याण्डको प्रस्तुती रहनेछ । शनिबारसमेत परेकाले बुटवल परपरका फराकिलो भेगलाई नेपथ्यले प्रेमिल मिलनको केन्द्र पनि तुल्याउने स्थानीय आयोजक बताउँछन् ।

त्यसपछिको प्रस्तुति भने नारायणघाटमा रहनेछ । त्यहाँस्थित ‘क्याम्पा चौर’मा माघ २७ गते बेलुकी नेपथ्यका दर्शकहरूले संगीतमय साँझ अनुभव गर्नेछन् । यो फराकिलो मैदानमै तीन वर्षअघि पनि नेपथ्य प्रस्तुत भइसकेको छ । यसरी हेटौंडा, बुटवल र नारायणघाट गरेर तीनवटै शहर तीन वर्षको अन्तरालपछि पुनः नेपथ्यलाई स्वागत गर्ने तयारीमा जुटेको हो ।

ब्याण्डको चौथो प्रस्तुती भने बेग्लै छ । विश्वभरिका प्रेमीप्रेमिकाहरूले फेब्रुअरीको १४ तारिख बेलुकी ‘भ्यालेन्टाइन्स डे’को रमाइलोमा आफुलाई डुबाइरहेको बेला नेपथ्य भने एउटा सुन्दर पहाडी नगरीमा गुञ्जिरहेको हुनेछ । पहिलोपटक नेपथ्य पुग्न लागेको त्यो नगरी हो बन्दीपुर । तलतिर पर्ने तनहुँ जिल्लाका अन्य बजारहरूमा आफुलाई बारम्बार प्रस्तुत गरिसकेको ब्याण्डले यसपटक भने श्रोताहरूलाई मास्तिर रहेको टुँडिखेलमा आकर्षित गर्ने योजना लिएको छ ।

ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भीडभाडभन्दा परको चिटिक्क पहाडी बस्ती बन्दीपुरमा धेरैपटक पर्यटक भएर पुगेको मलाई यसपालि गायकको रुपमा पाइला राख्ने नयाँ अनुभवले हौस्याइरहेको बताएका छन् । कन्सर्टहरूलाई व्यवस्थित रुपमा सम्पन्न गर्न हेटौंडामा ‘रमाइलो इभेन्ट्स्’, बुटवलमा ‘ब्याकअप इभेन्ट म्यानेजमेन्ट’, नारायणघाटमा ‘नेपाल डायरीज’ र बन्दीपुरमा ‘खड्गदेवी बन्दीपुर युथ क्लब’ले स्थानीय आयोजकको दायित्व सम्हालेका छन् । घोषणालगत्तै टिकट काट्ने दर्शकहरूका निम्ति राखिएको सहुलियत दरका ‘अर्लि बर्ड टिकेट’हरूमध्ये बुटवल, नारायणघाट र बन्दीपुरको कोटा समाप्त भइसकेको जानकारी स्थानीय आयोजकहरूले दिएका छन् । यि सबै स्थानहरूमा विद्यार्थीलगायत विशेष समुहको निम्ति पनि सहुलियत दरका बेग्लै टिकट राखिएका छन् । सीमित मात्रामा राखिएका त्यस्ता टिकटहरू धमाधम सकिन लागेको जानकारी पनि उनीहरूले दिइरहेका छन् ।

‘विश्वका ठूला सहरदेखि नेपालको सानो पहाडी बस्तीसम्म हेर्न आउने श्रोताहरूले नेपथ्यको स्वादमा एकरुपता पाउन् भनेर हामीले विशेष ध्यान दिँदैआएका छौं,’ ब्याण्डलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपटक पनि यो गुणस्तरलाई कायम राख्न मानवीयदेखि लिएर प्रविधिसम्मका उच्चतम सेवा प्रयोगमा ल्याइनेछ ।’

यसरी पहिलो चरणमा चार शहरको प्रस्तुतिपछि नेपथ्यको यस वर्ष तोकिएको स्वदेश यात्रा दोश्रो खण्ड भने आगामी नोभेम्बर महिनामा आयोजना गरिनेछ । यि सबै कन्सर्टहरूमा गायक अमृतलाई सदाझैं ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

दर्शक सुविधालाई ध्यानमा राख्दै सबैजसो कन्सर्टहरूको अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रवन्ध मिलाइएको छ । अनलाइन बुकिङका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत् आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।