कहाँ पुग्यो मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सार्ने तयारी ?

Yangle News
Yangle News
२०८१ असार ४ गते
कहाँ पुग्यो मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सार्ने तयारी ?

 

मेलम्ची खानेपानी आयोजनाले आयोजनाको हेडबक्स सार्नका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडबक्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको हो ।

जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । सो निर्णयसँगै आयोजनाले असार मसान्तभित्र सम्ममा विस्तृत अध्ययनका लागि परामर्शदाता छनोटका लागि इओआई निकाल्ने गरी तयारी अघि बढाएको आयोजना प्रमुख रत्न लामिछानेले जानकारी दिए ।

आयोजनाको हेडबक्सलाई आठ सय मिटरदेखि एक हजार मिटरको दूरीमा र दुवैपट्टी रक भएको स्थानमा टावर इन्टेक बनाइ टनेलभित्र नै संरचना बनाए १२ महिना काठमाडौँ पानी पठाउन सकिने बताइएको छ ।

२०७८ साल असार १ मा आएको बाढीपहिरोले हेडबक्सको ९० प्रतिशत भूभाग गेग्रानले पुरेको थियो । त्यसलगत्तै हेडबक्स वरपरको गेग्रान सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते आएको बाढीले गेग्रान थुपारेको थियो । अहिलेको हेडबक्सको क्षेत्र नजिकै सधैँ पहिरो बगिरहने ठूलो पहाड छ । विषय विज्ञहरुबाट गराइएको विभिन्न अध्ययनले हेडबक्सलाई पुनः सोही स्थानमा निर्माण गर्नु थप जोखिमयुक्त रहने देखाएकाले हेडबक्स सार्ने निर्णयमा पुगेको आयोजनाले जनाएको छ ।

दातृ निकाय एसियाली विकास बैंकले दुई वर्षअघि नै हेडबक्स सार्न खानेपानी मन्त्रालयलाई सुझाव दिएको भए पनि सरकारले केही दिनअघि मात्रै यसमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । हेडबक्सका संरचना बगरमुनि नै पुरिएका छन् र गेग्रान निकाल्न सकिने अवस्था छैन । हेडबक्सका पुरिएका संरचनालाई खोतलेर इन्टेकमाथि जालीको प्रबन्ध गरी गेग्रान छानेर पानी पठाउन सक्ने अवस्था नभएपछि विज्ञसँगको लामो परामर्शपछि आयोजनाले हेडबक्सलाई झण्डै एक हजार मिटरमाथि सार्ने भएको हो । दुईवटा पहाडका बिच खोचमा सार्न लागिएको हेडबक्स निर्माणको विस्तृत अध्ययनका लागि असार मसान्तभित्र सूचना प्रकाशित गर्ने तयारी आयोजनाले गरेको प्रमुख लामिछानेले जानकारी बताए ।

पुरानो हेडबक्सभन्दा झण्डै १ हजार मिटर दूरी अगाडि (माथि) बनाउन लागिएको हेडबक्सका लागि झण्डै साढे तीन अर्ब लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । असारभित्रै हेडबक्सको डिपिआरका लागि परामर्शदाता छनोट गर्न सूचना प्रकाशित गर्ने तयारी गरेको आयोजनाले समयमै काम सम्पन्न भएमा चार वर्षभित्र हेडबक्सका सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रक्षेपण गरेको छ ।

मेलम्ची परियोजनासँगै याङ्ग्री र लार्के खोलाको पानी पनि हेडबक्समार्फत नै सुरुङमा पठाइने हुँदा झण्डै याङ्ग्री र लार्के परियोजनाको डिपिआर पनि सँगै गरिने प्रमुख लामिछानेले जानकारी दिए । हेडबक्स सारे पनि त्यस भेमाथाङ विपत्तिको क्षेत्र भएकाले मेलम्ची, याङ्ग्री र लार्के परियोजना सम्पन्न गर्न अझै पनि कम चुनौतीपूर्ण छैन । दोस्रो चरणको परियोजनाअन्तर्गत याङ्ग्री र लार्केको पानी नदीमा मिसाएर हेडबक्स हुँदै काठमाडौँ ल्याउने सरकारको योजना थियो । तात्कालीन समयमा प्राविधिक हिसाबले यी दुई खोलाको पानी मिसाउन सकियोस् भनेर हेडबक्स हेलम्बुको पुछारमा बनाइएको थियो ।

हेडबक्सलाई पानीसँग सम्बन्धित संरचनामा प्राथमिक गेटवे मानिन्छ । पानी जम्मा हुने, थिग्रिने,  बालुवा तथा ढुङ्गा छानिनेलगायत संरचनाहरु हेडबक्सभित्र रहने गर्दछ । पहिला हेडबक्स बाहिर राखिएको थियो भने अबको संरचना टनेलभित्र नै राख्ने गरी व्यवस्थापन गरिने आयोजनाले जनाएको छ । हेडबक्स प्रयोगमा भएको संयन्त्रले वर्षाद्को समयमा पानीमा मिसिएर आउने बालुवालाई छान्ने गर्दछ ।