कार्यपालिका बैठक बोलाउन मेयर बालेनलाई अल्टिमेटम

Yangle News
Yangle News
२०८२ जेष्ठ १२ गते
कार्यपालिका बैठक बोलाउन मेयर बालेनलाई अल्टिमेटम

काठमाडौं महानगरपालिकाका कार्यपालिका ४१ जना सदस्यले मेयर बालेन्द्र शाह (बालेन)लाई जति सक्दो छिटो कार्यपालिका बैठक बोलाउन माग गरेका छन् ।

सोमबार बसेको अनौपचारिक बैठकले यस्तो माग गरेको हो । ४२ सदस्य रहेको कार्यपालिकामा मेयर शाहबाहेक सबैको उपस्थिति रहेको थियो । कार्यपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व रहेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था रहे पनि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पुसदेखि बस्न सकेको छैन । प्रमुखको काम, कर्तव्य र अधिकारमा पनि सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने उल्लेख छ ।

‘कम्तीमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक करिब ६ महिनादेखि बस्न नसकेपछि महानगरपालिका भित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णयलगायत पनि अन्योलमा पर्दै आएका छन्,’ प्रवक्ता नविन मानन्धरले भने, ‘स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२/८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन । स्थानीय सरकार सञ्चालन ऐनमै सभा तथा कार्यपालिकाको बैठक नगर प्रमुखले बोलाउने र बैठकको अध्यक्षता गर्ने प्रावधान छ । तर, मेयरले बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट आउने/नआउनेसमेत अन्योल देखिएपछि हामीले मेयरज्युलाई घच्घच्याएका हौं ।’

Yangle News

Yangle News Yangle News