त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित तीन कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपानेसहित तीन जनालाई घुस रकमसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाल रहेका छन् ।
उनीहरूले कुरियर कम्पनीमार्फत् विदेशमा कुरियर गरी विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीको आधारमा आयोगको केन्द्रीय कार्यालय, टंगालबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् । उनीहरूलाई गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारबाट आइतबार नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
वैदेशिक हुलाक भन्सार शाखा डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्राबाट घुसबापत लिइसकेको १० हजार रूपैयाँ, सोही घर्राबाट स्रोत नखुलेको ४० हजार ३५०, र पुडासैनीको साथबाट स्रोत नखुलेको ९६ हजार ७० गरी १ लाख ४६ हजार ४२० रूपैयाँ बरामद भएको छ ।
गोश्वारा हुलाक कार्यालय पार्सल शाखा, डिल्लीबजारमा कार्यरत नायव सुब्बा छवि प्रसाद रिजालको साथबाट घुसबापत लिइसकेको २० हजार, स्रोत नखुलेको १८ हजार ८४८ गरी जम्मा ३८ हजार ८४८ रूपैयाँ र अन्य स्रोत नखुलेको रकमसमेत गरी २ लाख ६८ हजार २८८ रूपैयाँ तथा विभिन्न व्यक्तिबाट २३ थान मोबाइल सेटसमेत नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।