कोभिडपछि पहिलो पटक तातोपानी नाका दुईतर्फी सञ्चालन

Yangle News
Yangle News
२०८० बैशाख १८ गते
कोभिडपछि पहिलो पटक तातोपानी नाका दुईतर्फी सञ्चालन

तातोपानी नाका सोमबारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप सोमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो ।

सोमबार बिहान नेपालबाट तीन वटा ट्रकमा मुढा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिएका छन् ।

गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार नाकाको  नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुला भएको हो । बैठकमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका सबै नाकाहरू पूर्णरुपमा खुला गर्ने सहमति गरिएको थियो ।

यसअघि चीनबाट सामान ल्याउन एकतर्फी सञ्चालमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य सुरु भएको छ ।

सिन्धुपाल्चोक १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाले कूटनीतिक पहलकदमीले नाका दोहोरो पुनः सुरु भएको र छिट्टै मानव आवतजावत पनि सुरु हुने जानकारी दिए ।

चीनसँग जोडिएका सबै सीमा नाकाहरू कोभिड संक्रमण फैलिएसँगै बन्द गरिएका थिए । यसबीचमा केही समय एकतर्फी सामान पठाउने हिसाबले मात्रै सञ्चालनमा रहेका नाकाहरू अब दुवैतर्फ पूर्णरुपमा सञ्चालन हुनेछन् ।

373 views