नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगहरूमा विद्युत् कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।
अर्थ मन्त्रालयमा आज आयोजित सार्वजनिक निजी संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उद्योगहरूको विद्युत् लाइन काटिँदा देशभरका दजनौँ उद्योग बन्द हुन पुगेको र यसबाट हजारौँ रोजगारी संकटमा परेको भन्दै वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरे ।
ढकालले लाइन काटिँदा राष्ट्रले नै ठूलो आर्थिक क्षति व्यहोर्नु परेको, औद्योगिक उत्पादन, निर्यात र मुलुकको समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पारेको बताए । उनले विवाद समाधानका लागि संवाद र सहकार्यको वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरे । त्यस्तै, अध्यक्ष ढकालले अर्थतन्त्र पुनरुत्थानका लागि उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्नु आजको आवश्यकता भएको बताए । उनले भने, ‘जेन–जी आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी उद्योग प्रतिष्ठानमाथि भएको आक्रमणले औद्योगिक सुरक्षाको अभाव देखिएको, लगानीकर्तामा भय पैदा गरेको र लगानीकर्ताको आत्मविश्वास कमजोर भएको छ ।’
अध्यक्ष ढकालले उद्योगी व्यवसायीहरूको मनोबल उच्च राख्न सकिएन भने देशमा लगानी आउने नभई भएको पुँजी पनि पलायन हुने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरे । ‘आन्तरिक र बाह्य लगानीका लागि उद्योगी–व्यवसायीले सुरक्षित महसुस गर्ने वातावरण आवश्यक छ । देशमा रोजगारी सिर्जना गर्ने, राज्यलाई कर तिर्ने निजी क्षेत्र हरेक आन्दोलनका समयमा आक्रमणको सिकार हुनु दु:खद हो । निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक छ । र, यसका लागि सरकारले उचित पहल गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने ।
सरकारले औद्योगिक सुरक्षा तथा क्षतिग्रस्त उद्योगहरूको पुनर्निर्माणलगायतका विषयमा गरेका निर्णयहरू सराहनीय रहे पनि कार्यान्वयन ढिलो हुने प्रवृत्तिमा सुधार गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए । साथै, उनले सरकारले अनुकूल व्यावसायिक वातावरण तयार गर्न जिल्ला सुरक्षा समितिका पदाधिकारीसमेतको उपस्थितिमा जिल्लास्थित उद्योग वाणिज्य संघलगायत व्यवसायीहरूको सहभागितामा बैठक राखी आवश्यक समन्वय गर्न सरकारको निर्णयको महासंघले स्वागत गरेको बताए ।