निर्माण क्षेत्र गम्भीर आर्थिक दबाबमा, अधिकांश आयोजना प्राय ठप्प

Yangle News
Yangle News
२०८३ बैशाख २२ गते
निर्माण क्षेत्र गम्भीर आर्थिक दबाबमा, अधिकांश आयोजना प्राय ठप्प

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको इतिहासमै अहिले निर्माण व्यवसायीहरु कठिन मोडमा पुगेको जनाएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले राज्यको कमजोर पुँजीगत खर्च, निर्माण सामग्रीमा तीव्र मूल्यवृद्धि र नीतिगत अन्योलका कारण देशभरका अधिकांश आयोजना ठप्प प्रायः भएको उल्लेख गरेको हो ।

महासंघका अनुसार सात प्रदेश, ७७ जिल्ला संघ तथा अन्य सदस्यसहित झन्डै ३२ हजार निर्माण व्यवसायी आबद्ध रहेको यस क्षेत्र अहिले गम्भीर आर्थिक दबाबमा छ । चालू आर्थिक वर्षमा विनियोजित पुँजीगत बजेटमध्ये अहिलेसम्म झन्डै २७ प्रतिशत मात्र खर्च हुनुले पूर्वाधार विकासमा प्रत्यक्ष असर परेको महासङ्घको भनाइ छ ।

महासंघका अध्यक्ष निकोलस पाण्डेले मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, मट्टितेललगायत इन्धन तथा बिटुमिन, सिमेन्ट, डण्डीजस्ता निर्माण सामग्रीको मूल्यमा असामान्य वृद्धि भएको बताउनुभयो । गएको फेब्रुअरी १५ मा प्रतिलिटर १३९ रुपैयाँ रहेको डिजेलको मूल्य बढेर २२५ रुपैयाँ पुगेको र बिटुमिनको मूल्य प्रतिकेजी ७५ बाट १५५ रुपैयाँ पुगेको छ ।

यसले निर्माण लागत अत्यधिक बढाउँदा व्यवसायीहरू ‘फोर्स माज्युर’ अवस्था सामना गर्न बाध्य भएको उनको भनाइ छ । तर, मूल्य समायोजनका लागि सरकारबाट प्रभावकारी निर्णय नभएको गुनासो संघले गरेको छ । महासंघले मूल्यवृद्धि र सामग्री अभावका कारण राष्ट्रिय गौरवका आयोजनासहित अधिकांश परियोजनाको काम ठप्प भएको जनाएको छ । निर्धारित समयमा आयोजना सम्पन्न हुने सम्भावना न्यून भएकाले बैंक ग्यारेण्टी, बिमा र क्षतिपूर्तिसहित सबै आयोजनाको म्याद थप गर्न सरकारसँग माग गरिएको छ ।

यसैबीच सार्वजनिक खरिद ऐन, २०६३ संशोधनसम्बन्धी अध्यादेशले केही सकारात्मक व्यवस्था गरे पनि ‘लो बिडिङ’जस्ता मूल समस्या पूर्ण रूपमा समाधान नगरेको महासंघले जनाएको छ । मूल्य समायोजन, उपभोक्ता समितिसम्बन्धी व्यवस्था, मासिक भुक्तानीलगायत विषयमा स्पष्टता अभाव रहेको महासंघको निष्कर्ष छ ।

अहिलेको अवस्थामा ‘काम गर्दा घाटा, नगर्दा जरिवाना’को दोहोरो मारमा व्यवसायी परेको महासङ्घको भनाइ छ । एक हप्ताभित्र मूल्य समायोजनसम्बन्धी नीतिगत निर्णय नभए निर्माण कार्य स्वतः बन्द हुने र आन्दोलनका कार्यक्रम घोषणा गरिने जनाइएको छ ।