सरकारले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीको माथिल्लो स्थानमा रहेको बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी वायु अत्यधिक अस्वस्थकर भएको र सजग अपनाउन आग्रह गरेको हो । ‘वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटीलगायत अंगहरूमा गम्भीर असर पार्दछ,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दम, क्यान्सरजस्ता नसर्ने तथा दीर्घकालीन रोगहरूको जोखिमसमेत बढाउँछ ।’
वायु प्रदूषणले शारीरिक तथा मानसिक रुपमा कमजोर शिशु जन्मिने सम्भावना उच्च रहने मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहान नहिँड्न पनि आग्रह गरेको छ ।
कति छ प्रदूषण ?
२ दिनदेखि काठमाडौं उपत्यकाको वायु गुणस्तर विश्वका प्रदूषित सहरमध्ये पहिलो स्थानमा रहेको छ । काठमाडौंको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) चैत्र १८ गते २३९ पुगेको थियो । मंगलबार बढेर २५६ पुग्यो । एक्यूआई अनुसार उपत्यकाको हावा अति अस्वस्थ छ । प्रदूषित सहरहरूमा दोस्रो स्थानमा भारतको दिल्ली, तेस्रो स्थानमा थाइल्यान्डको चियाङ माइ र चौथोमा बंगलादेशको ढाका रहेको छ ।
उपत्यकाका तीन जिल्लामध्ये भक्तपुर बढी प्रदूषित रहेको देखिन्छ । भक्तपुरको बालकोट, सूर्यविनायक, मध्यपुर ठिमी, सल्लाघारी, चाँगुनारायण, ताथली क्षेत्रको एक्यूआई बढी छ । काठमाडौँको नागार्जुन क्षेत्रको बोहराटारमा सबैभन्दा बढी एक्यूआई २८५ रहेको छ । यस्तै ललितपुरको भैँसेपाटी, जावलाखेल क्षेत्र पनि बढी प्रदूषित छन् ।
प्रदूषण मापनमा शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्यूआईलाई सतर्क रहनुपर्ने रूपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ । १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थकर मानिन्छ । २०१ देखि ३०० सम्मको वायुलाई अति अस्वस्थ वायु भनेर बुझिन्छ । ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ ।
किन बढ्यो प्रदूषण ?
वातावरणमा तापक्रम बढ्दै जाँदा फागुनदेखि काठमाडौं नै प्रदूषित सहरको सूचीमा पर्न थालेको छ । वातावरण विज्ञहरुका अनुसार हिउँद र प्रि-मनसुनको समयमा जंगलमा लाग्ने डढेलोको धूवाँ काठमाडौंमा आउने गर्छ ।
कम वर्षा र सुक्खा मौसमले धुलो र प्रदूषक तत्वहरू हावामै रहने भएकाले प्रदूषणको स्तर बढाउँछ । चिसो मौसम सकिएर तापक्रम बढ्दै गएको तथा लामो समयदेखि पानी पर्न नसकेका कारण वायुमण्डलको फोहोर तैरिएर बसेको छ । भू-बनोटका कारण काठमाडौंको हावा सजिलै बाहिर जान नसक्ने भएकाले पनि प्रदूषण बढेको हो ।
काठमाडौं उपत्यकामा वायु प्रदूषण नियन्त्रणमा आउन पानी नै पर्नुपर्ने विज्ञहरुको भनाई छ ।
विज्ञप्ति :