प्रधानमन्त्री पुष्पकमल दाहालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव बैकुण्ठ अर्याललाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटार बोलाएर उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका हुन ।
प्रधानमन्त्री दाहालले बीपी प्रतिष्ठानको पछिल्लो अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुँदा बिरामी र सर्वसाधारणले दुःख पाउने भएकाले यसलाई गम्भीर रुपमा लिन निर्देशन दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
यसअघि, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीलाई तत्काल उपस्थित गराइदिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई आग्रह गरेका थिए ।
आजै मन्त्री बस्नेतलाई पत्र लेखी मेयर साम्पाङले प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई उपचार सेवा प्रभावित भएको, पठनपाठन र परीक्षासमेत ठप्प भएको भन्दै कायम मुकायम उपकुलपतिलाई उपस्थित गराएर निकासका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।