धुम्रपानको लतमा फसेकाहरुलाई धुम्रपान छोड्न प्रोत्साहन गर्ने उद्धेश्यले नेपाल अबुर्द रोग निवारण संस्थाले ( एनसीआरएस) टिकटक च्यालेन्ज प्रतियोगिता आयोजना गर्ने भएको छ ।
३१ मे अर्थात विश्व धुम्रपानरहित दिवसका अवसरमा धुम्रपान सम्बन्धि जनचेतना जगाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाले जनाएको छ ।
युवापुस्ता माझ लोकप्रिय टिकटकलाई प्रयोग गरि यस बर्ष पहिलो पटक संस्थाले युवायुवतीलाई धुम्रपानबाट टाढा रहन, धुम्रपान छोड्न प्रोत्साहन गर्न र धुम्रपान रहित समाज निर्माणमा सहभागी बनाउन टिकटक च्यालेन्ज प्रतियोगितना आयोजना गरेको एनसीआरएसले जनाएको छ ।
यसका साथै संस्थाले विभिन्न भिडियो, पोस्टर, ब्यानरहरु एनसीआरएसले आफ्नो फेसबुक पेज, इन्स्टाग्राम र टिकटकमा अपलोड समेत गरेको छ ।
प्रतियोगितामा सहभागी हुन आफ्नै शैलिमा, धुम्रपान नगरौं भन्ने सन्देशमूलक भिडियो बनाउनु पर्नेछ । उत्कृष्ट दश सहभागीलाई नगद पुरस्कार, गिफ्ट ह्याम्पर र प्रमाणपत्र दिने एनसीआरएसले जनाएको छ ।