त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त दिएका ४३ जनामध्ये १४ जना सर्टलिष्टमा परेका छन् । सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको संयोजकत्वको उपकुलपति सिफारिस समितिले १४ जनाको नाम छनोट गरेका हुन् ।
सर्टलिस्टमा पर्नेहरूमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्र बहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा छन् । छनोट भएका १४ जनाले शिक्षा मन्त्रालयमा माघ २९, फागुन १ र २ गते सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नेछन् ।
त्यसपछि अब्बल ठहर हुनेलाई समितिले उपकुलपति नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ ।
उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक १६ गतेदेखि सकिएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कात्तिक १७ गते प्रा.डा. शिवलाल भुसाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी तोकेका थिए । त्रिवि ऐन २०४९ को दफा २१ को ख अनुसार दैनिक कार्यसञ्चालनका लागि बढीमा तीन महिनाका लागि कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिन मिल्छ ।
सो अवधि माघ १७ गते सकिएपछि प्रधानमन्त्री प्रचण्डले फेरि उपकुलपतिको जिम्मेवारी भुसाललाई नै तोकेका थिए । उनलाई उपकुलपति नियुक्ति नहुँदासम्म काम गर्न दिने गरी जिम्मेवारी तोकिएको थियो ।
त्रिविमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको हो । उपकुलपति माग गर्दै दुई पटक विज्ञापन गरिएको थियो । पुस २० गते उपकुलपति माग गर्दै पहिलो पटक विज्ञापन गरिएको थियो । उपकुलपतिको अनुभवसम्बन्धी बुँदालाई लिएर विवाद भएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डको निर्देशनमा पुस २३ गते दोस्रो पटक विज्ञापन गरिएको थियो ।