सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विभागका अनुसार कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको हो । त्यसका लागि स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन् । कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।
भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि २०५० सालमा आठ जिल्लाबाट सुरू भएको कार्यक्रम २०५९ सालदेखि देशभरि नै लागू गरिएको थियो । यस्तै, जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ बाट १३ जिल्लाबाट सुरू गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालबाट सबै जिल्लामा लागू गरिएको थियो ।