नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुबेर खापुङ नियुक्त

Yangle News
Yangle News
२०८२ भदौ १३ गते
नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुबेर खापुङ नियुक्त

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । उनी अहिले केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखको जिम्मेवारीमा छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यही भदौ १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । हालका आईजीपी दीपक थापा १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जाने भएकाले त्यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको ३२औं आईजीपीको टुंगो लगाएको हो । वर्तमान आईजीपी थापासँगै इन्स्पेक्टरमा भर्नाका लागि फारम भरेका खापुङले तेस्रो लटमा (२०५२ कात्तिक २७) मात्रै नियुक्ति पाएका थिए । यो मितिमा नियुक्ति लिएका खापुङबाहेक बाँकी सबैले अवकाश पाइसकेका छन् ।

तेह्रथुममा जन्मिएका खापुङले करिब तीन दशकको सेवा अवधिमा उनले विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्रीको सुरक्षा प्रमुख, प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन विभाग प्रमुख, काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुख, कोशी प्रदेश प्रहरी प्रमुख लगायतका महत्त्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् ।

हालको प्रहरी ऐनअनुसार उनी ३० वर्षे सेवा अवधिका कारण आगामी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जानेछन् । यस अवधिमा नयाँ प्रहरी ऐन जारी भए उनको सेवाअवधिमा अहिलेको प्रावधान अनुसार ६ महिना थपिनेछ ।