अमेरिकाको लुइसियाना राज्यस्थित श्रेभपोर्ट शहरमा भएको गोलीकाण्डमा १ देखि १४ वर्ष उमेरका ८ जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनालाई प्रहरीले घरेलु विवादसँग सम्बन्धित बताएको छ ।
प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ५ बजे घटना शुरू भएको थियो । एक जना बन्दुकधारीले १० जनामाथि गोली प्रहार गरेपछि चोरी गरिएको गाडीमा भागेका थिए । त्यसपछि प्रहरीले पछ्याउँदै संदिग्ध हमलाकारीलाई गोली हानेर मारेको थियो ।
प्रहरीले मृतकहरूको नाम सार्वजनिक गरेको छैन, तर केही बालबालिका हमलाकारीसँग सम्बन्धित रहेको बताइएको छ । संदिग्ध हमलाकारीको पहिचान शमार एल्किन्सका रूपमा गरिएको छ । श्रेभपोर्टका मेयर टम आर्सेनोले यस घटनालाई शहरकै सबैभन्दा दुःखद घटनामध्ये एक भएको बताएका छन् । घाइतेहरूलाई अस्पताल लगिएको र परिवारका लागि प्रार्थना गर्न उनले आग्रह गरेका छन् ।
प्रहरीका अनुसार घटना भएका स्थानहरू एकभन्दा बढी छन्, जसमा वेस्ट ७९औं स्ट्रिटका दुई घर र ह्यारिसन स्ट्रिटस्थित अर्को घर समावेश छन् । प्रहरी टोली घटनास्थलमा पुग्दा घरभित्र बालबालिकाहरू मृत अवस्थामा फेला परेका थिए । घटनापछि हमलाकारीले गाडी लुटेर भाग्ने प्रयास गरेका थिए । प्रहरीले पछ्याउँदै बोसियर पारिस क्षेत्रमा उनलाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरी मारेको जनाएको छ ।
प्रहरीले हमलाकारी एक्लैले घटना घटाएको विश्वास गरेको छ । श्रेभपोर्ट प्रहरी प्रमुख वेन स्मिथले यस घटनालाई कल्पनासमेत गर्न नसकिने बताएका छन् । घटनाबारे अनुसन्धान लुइसियाना स्टेट पुलिससँग समन्वयमा भइरहेको छ । ‘के भएको हो भन्ने स्पष्ट पार्न जति समय लागे पनि हामी अनुसन्धान जारी राख्नेछौं’, उनले भने ।
स्थानीय काउन्सिल सदस्य ग्रेसन बाउचरका अनुसार शहरमा हुने ३० प्रतिशतभन्दा बढी अपराध र हत्या घरेलु विवादसँग सम्बन्धित छन् । ‘यस एक घटनाले मात्र पनि शहरको हत्या दर दोब्बरभन्दा बढी बढाएको छ’, उनले भने । राज्यका गभर्नर जेफ ल्यान्ड्रीले घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित सबैका लागि प्रार्थना गरेका छन् । अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले पनि यसलाई हृदयविदारक त्रासदी भनेका छन् ।
गन भायलेन्स आर्काइभ का अनुसार सन् २०२४ जनवरीपछि अमेरिकामा भएको यो सबैभन्दा घातक सामूहिक गोलीकाण्ड हो ।