टेस्ट टोलीविरुद्ध नेपालको पहिलो जित

Yangle News
Yangle News
२०८२ अशोज १२ गते
टेस्ट टोलीविरुद्ध नेपालको पहिलो जित

नेपालले वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी आई सिरिजमा विजयी सुरुवात गरेको छ ।  नेपालले वेस्ट इन्डिजमाथि १९ रनको ऐतिहासिक जित हात पारेको हो ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक कुनै पनि टेस्ट टोलीलाई हराउन सफल भएको हो । वेष्ट इण्डिज सन् २०१२ र २०१६ को टी-२० विश्वकप च्याम्पियन टोली हो । यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन मात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका अमिर जांगोले १९ र नविन बिडैसीले सर्वाधिक २२ रन बनाए । ओपनर काइल मेयर्स ५ रनमै रन आउट भए कलिम अगस्टे १५ रनमा क्याच आउट भएका थिए ।​ जवेल एन्ड्यु ५, केसी कार्टी १६, नविन २२ र जेसन होल्डर ५ रनमा आउट भए ।

नेपालका कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले १-१ विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो ।  नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाएका थिए ।

ओपनर कुशल भुर्तेललाई ६ र आसिफ शेख ३ रनमा  आउट भए । नेपाललाई तेस्रो विकेटलाई कुशल मल्ल र रोहित पौडेलले ५८ रनको साझेदारी गर्दै राम्रो योगफलको आधार देखाएका थिए । कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे ।

गुलशन झाले १६ बलमा २ छक्कासहित २२ रन जोडे । टेस्ट टोलीविरुद्ध संघर्ष गर्दै आएका दीपेन्द्रसिंह ऐरी १९ बलमा १ छक्कासहित १७ रनमा क्याच आउट भए । सन्दीप जोरा ९ र करण केसी डक आउट भए  । १९औं ओभरमा दीपेन्द्र, करण र सन्दीप क्याच आउट भएका थिए ।​

वेस्ट इन्डिजका मध्य गतिका बलर जेसन होल्डरले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए ।  नविन बिडैसीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने कप्तान अकिल हुसेनले १ विकेट लिए ।

कप्तान रोहितले आफ्नो ‘प्लेअर अफ दी म्याच’ अवार्ड नेपालमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका सहिदप्रति समर्पित गरेका छन् । उनी खेलमा प्लेअर अफ दी म्याच चुनिएका थिए ।

दुई टोलीबीच दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार हुने तालिका छ ।