१५ देखि २० प्रतिशत कैदीबन्दी मानसिक रोगी

Yangle News
Yangle News
२०८० असार २२ गते
१५ देखि २० प्रतिशत कैदीबन्दी मानसिक रोगी

 

काठमाडौँस्थित केन्द्रीय कारागारमा रहेको केन्द्रीय कारागार अस्पतालमा मानसिक रोगीको सङ्ख्या बढ्दै गइएको छ । कारागारमा कैदीबन्दीहरू त्यत्तिकै बस्दा मानसिक रोग बढेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश बुढाथोकीका अनुसार हृष्टपुष्ट कैदीबन्दीलाई सरकारले प्रयोग गर्न नसकेपछि कारागारमा मानसिक रोगी बढिरहेको बताए । उनका अनुसार अस्पतालमा करिब १५ देखि २० प्रतिशत मानसिक रोगी कैदीबन्दी रहेका छन् ।

अस्पतालमा सबभन्दा बढी मानसिक रोगी नै रहेको उनी बताउँछन् । त्यसपछि मधुमेह, कोलस्ट्रोल, उच्च रक्तचापका बिरामीको साथै महिलाको पाठेघर खस्ने, पाठेघरमा सङ्क्रमणजस्ता पनि बिरामी कागारारमा रहेका छन् । यस्तै क्यान्सरका पनि बढ्दै गएको उनको भनाइ छ ।

मानसिक रोगी बढ्न थालेपछि अस्पतालले दुई जना मानसिक रोग विशेषज्ञ र दुई परामर्शदातासमेत राखेको छ । अस्पतालले मानसिक वार्ड भनेर पनि छुट्याएको छ । “उनीहरूको काम केही छैन । फुर्सदमा सोचेर एक्लै बस्ने गर्दछन् । टोलाउने गर्छन् । जसले गर्दा उनीहरू विस्तारै मानसिक रोगी बन्दै छन्”, उनले भने, “उनीहरू दोषी भएर वा कतिपय परिबन्द परेका पनि होलान् । आत्मग्लानी भएर मेरो जिन्दगी गयो भनेर सोचेर बसेका रोगी बढेका छन् ।” विभिन्न विकास निर्माणमा सरकारले बलिया, जवान, हृष्टपुष्ट कैदीलाई प्रयोग गर्न सके मानसिक रोगी नबढ्ने उनको भनाइ रहेको छ ।

 

सबै कैदीलाई निःशुल्क उपचार

कारागारमा रहेका सबै कैदीको सानादेखि ठूलो रोगका उपचार सरकारले गर्ने भएकाले सबै उपचार खर्च कारागार अस्पतालले नै व्यहोर्दै आएको छ ।

केन्द्रीय कारागार अस्पतालमा उपचार हुन नसकेपछि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, गङ्गालाल अस्पताललगायत अस्पतालसँग सम्झौता गरेर कैदीबन्दीको उपचार सरकारले निःशुल्क गर्ने गरेको उनी बताउँछन् ।

अस्पतालमा अहिले कैदीबन्दीलाई सामान्य उपचार, मानसिक रोग विशेषज्ञ, छाला तथा यौनरोग विशेषज्ञ, दन्त चिकित्सक, आँखा विशेषज्ञ, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा तथा प्रयोगशाला, भिडियो एक्सरे, रेडियोलोजिष्ट सेवा पनि पाइरहेका छन् ।

अस्पतालमा सात विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृत आठ जनासहित ९० जना स्वास्थ्यकर्मीले कैदीबन्दीलाई उपचार गरिरहेका छन् । उनले आफू आइसकेपछि छाला तथा यौनरोग विशेषज्ञ, दन्त चिकित्सक, आँखा विशेषज्ञ, महिला तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकलाई ल्याएको बताउनुहुन्छ । अस्पतालमा अहिले दैनिक दुई सय जनाको उपचार गर्न आउने गरेका छन् ।