साफ महिला यू-१७ : नेपालको उपाधि सम्भावना कमजोर

Yangle News
Yangle News
२०८२ भदौ ९ गते
साफ महिला यू-१७ : नेपालको उपाधि सम्भावना कमजोर

दोस्रो हारसँगै नेपालको साफ महिला यु-१७ च्याम्पियनसिप जित्ने सम्भावना कमजोर भएको छ ।

भुटानमा जारी प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न तेस्रो खेलमा बंगलादेशसँग नेपाल ३-० ले पराजय बेहोर्न पुगेको हो । बंगलादेशका लागि थुनुए मार्मा, सौरभी अखण्ड प्रीति र मामोनी चक्माले गोल गर्दै टोलीलाई सहज जित दिलाइन् । बंगलादेशले खेलको ४१औं मिनेटमा अग्रता लिएको थियो । स्ट्राइकर मार्माले टोलीका लागि पहिलो गोल गरेकी हुन् । त्यसको चार मिनेटपछि नै सौरभीको गोलमा बंगलादेशले अग्रतालाई दोब्बर बनायो । मिडफिल्डर चक्माले निर्धारित ९० मिनेटपछिको इन्जुरी समयमा सुन्दर गोल गर्दै बंगलादेशको जित पक्का गरिन् ।

योसँगै बंगलादेशले २ खेलबाट ६ अंक पुर्‍याएको छ । बंगलादेशले पहिलो खेलमा भुटानलाई ३-१ ले हराएको थियो । दोस्रो खेलमा भने भारतसँग २-० ले पराजित हुन पुगेको थियो । भारत ९ अंकसहित शीर्ष स्थानमा छ ।

पहिलो खेलमा भारतसँग ८-० ले पराजित भएको नेपालको ३ अंक छ । नेपालले प्रतियोगितामा एक मात्रै जित भुटानविरुद्ध २-१ को निकालेको थियो । भुटान भने तीनवटै खेल हार्दै पुछारमा छ ।

आइतबारको हारपछि नेपालका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले पहिलो गोल खाएपछि खेलाडीको मनोबल घटेको प्रतिक्रिया दिएका छन् । ‘गोल खाइसकेपछि मनोबल घटाइहाल्ने नेपाली फुटबलको यो पुरानो परम्परा हो । आज पनि त्यस्तै भयो,’ उनको भनाई छ ।

नेपालले अब पुन: बंगलादेशसँग अगस्ट २७, भारतसँग दोस्रो पटक अगस्ट २९ र अन्तिम खेल भुटानसँग अगस्ट ३१ मा खेल्ने छ । बंगलादेशविरुद्धको दोश्रो खेलमा जित हासिल गरेमात्र नेपालको उपाधि सम्भावना जीवितै रहनेछ । उक्त खेलमा पराजित भएमा नेपाल उपाधि होडबाट बाहिरिनेछ ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार देशको सहभागिता रहेको छ । लिग चरणको आधारमा जारी प्रतियोगितामा प्रत्येक टोलीले एक अर्काविरुद्ध २ पटक खेल्नेछन् । अन्त्यमा कुल ६ खेल खेलेपछि सर्वाधिक अंक ल्याउने टोली प्रतियोगिताको विजेता घोषित हुनेछ ।