टप एण्ड टी-२० सिरिजमा नेपालले दोश्रो जित हासिल गरेको छ । सिरिजको पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेको हो ।
अष्ट्रेलियाको पार्मर्स्टनस्थित काजालिस ऐरिनामा भएको खेलमा नेपालले दिएको १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको रेनेगेड्सले निर्धारित २० ओभरमा १ सय ६ रन बनाउँदै अलआउट भयो ।
रेनेगेड्सको लागि अर्जुन नैरले सर्वाधिक २२ बलमा २६ रन बनाए । ह्यारी डिक्सनले १५ बलमा १६ रन बनाए । ओलिभर पिकले १४ लेमिरले १८ रन बनाएर रन आउट भए । अनय कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिए । साहब आलम र रुपेश सिंहले १-१ विकेट लिए ।
त्यसअघि, ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रन बनाए । उनले २२ बलमा २९ रन जोडेका थिए । ओपनर कुशल भुर्तेल १ रनमा बोल्ड हुँदा अर्का ओपनर भिम सार्कीले १७ रन बनाए । आरिफ शेखले १२, कप्तान दिपेन्द्र सिंह ऐरीले २७ र लोकेश बमले २४ रन बनाए । रुपेश सिंह १६ र साहब आलम शुन्यमा अविजित रहे । मेलबर्न रेनेगेड्सको लागि फर्गुस ओ निल, कालुम स्टो, लच्लान ब्याङ्स र मिचेल आर्चरले समान २-२ विकेट लिए ।
नेपाल हालसम्म खेलेका ५ खेलमध्ये सुरुवाती ३ खेलमा लगातार पराजित भएको थियो । पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको नेपालले दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रन तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनको हार ब्यहोरेको थियो । मंगलबार भएको चौथो खेलमा भने नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको थियो ।
नेपाल हाल ५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । नेपालले यसपछि शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्ने तालिका छ ।