नेपाली चलचित्र ‘परान’ले प्रदर्शनको ५१औं दिन पूरा गरेको छ । नेपाली चलचित्र क्षेत्रमा ५१औं दिनसम्म प्रदर्शन हुनुलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ ।
दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्रले शनिबार काठमाडौं उपत्यकामा रहेका आईएनआई सिनेमाज, एफक्युब सिनेमाज, क्यूएफएक्स सिटी स्क्वाएर मल, क्यूएफएक्स भक्तपुर, सिके सिनेमाज, क्यूएफएक्स लविम मल, आईएनआई सिनेमा लोत्से मल, आईएनआई सिनेमा विश्वज्योति, बीएसआर मुभिज र उपत्यकाबाहिर बुटवलमा रहेको आईएनआई सिनेमाज क्युबक्स, इलाइट सिनेमा इटहरी, भीएफएक्स सिनेमाज, कावासोती सिनेमाज, क्यूएफएक्स बागेश्वरी लगायतका चलचित्र भवनमा प्रदर्शनको ५१औं दिन पूरा गरेको हो ।
हामीले पारिवारिक कथालाई चलचित्रमार्फत आमदर्शकसम्म पुर्याएका छौं । यसलाई उहाँहरूले आफ्नै घर र समाजको कथा भएकाले रुचाउनुभयो । हामीले व्यावसायिक र समीक्षात्मक दुवै रूपमा सफलता पाएका छौं,’ निर्देशक आचार्यले भने ।
चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रवीन खतिवडा लगायतका कलाकारले अभिनय गरेका छन् । पुस ३ गतेसम्मको चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘सिनेपा-२ बक्सअफिस’मा रहेको तथ्यांकअनुसार उक्त चलचित्रले देशव्यापी १७ करोड ५५ लाख ३४ हजार ५३० कमाएको छ । यो कमाइसँगै चलचित्र ‘परान’ सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीको चौथो स्थानमा छ ।
‘सिनेपा २ बक्सअफिस’मा रहेको तथ्यांकअनुसार ४६ करोड ८७ लाखको कमाइ गर्दै ‘पूर्णबहादुरको सारंगी’ पहिलो स्थानमा, २१ करोड ४० लाखको कमाइ गर्दै ‘कबड्डी ४ : द फाइनल म्याच’ दोस्रो स्थान, १९ करोड ९२ लाख कमाइ गर्दै ‘१२ गाउँ’ तेस्रो स्थानमा रहेको छ । साथै, चलचित्र ‘परान’ यो वर्षमा प्रदर्शनको ५१औं पूरा गर्ने तेस्रो चलचित्र बनेको छ । यसअघि चलचित्र ‘ऊनको स्वीटर’ र ‘जेरीः अन टप’ले उक्त सफलता पाएका थिए ।