कोशी प्रदेश पर्यटन वर्षको औपचारिक सुरुवात कार्यक्रम ‘टीएमजे’मा

Yangle News
Yangle News
२०८१ चैत्र २५ गते
कोशी प्रदेश पर्यटन वर्षको औपचारिक सुरुवात कार्यक्रम ‘टीएमजे’मा

‘कोशी प्रदेश पर्यटन वर्ष-२०८२’को सुरुवात तीनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्रबाट हुने भएको छ । चैत्र २७ गते टीएमजेस्थित आरआर गार्डेनमा कार्यक्रम गरी पर्यटन वर्षको औपचारिक सुरुवात हुने भएको हो ।

पर्यटन वर्ष मनाउन सरकारले चालु आर्थक वर्षको बजेटमा १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, चालु वर्षमा खर्च गर्न विनियोजन गरिएको रकम तीन महिनाको अवधिमा खर्च हुने सम्भावना भने छैन । कोशी प्रदेश पर्यटन वर्ष २०८२ उद्घाटनको नजिक आइपुग्दा पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन वर्षको नारा, लोगो र मस्कट तयार पारेको छ ।

मन्त्रालयले कोशी प्रदेशको हिमाली क्षेत्रमा पाइने हाब्रेको मस्कट प्रयोग गर्ने निर्णय गरेको छ भने नेपाली राष्ट्रिय झण्डाको कभरमा विश्वमा कोशी टप्पुमामात्र पाइने अर्नाको प्रतिकसँगै सगरमाथा, पहाड, तराईं, कोशी नदी र सुन्दर प्राकृतिक सम्पदा झल्काउने प्रतीकहरू प्रयोगगरी बनाएको लोगो प्रयोग गर्ने भएको छ ।

राताम्मे गुराँस फुलेको स्थानबाट पर्यटन वर्षको उद्घाटन गर्ने तयारी भए पनि यस वर्ष गुराँस भने पर्याप्त फुलिसकेको छैन । गुराँस फूलाउन अहिले दमकलबाट लगेर गुराँसका रुखमाथि पानी हाल्न थालिएको छ ।

पयर्टनसँगै प्रदेशका रमणीय क्षेत्र र पहिचानलाई थप उजागर गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गर्न लागिएको हो । मुलुकभित्र र छिमेकी राष्ट्र भारतबाट कम्तीमा १७ लाख पर्यटकलाई पर्यटन वर्षको उत्सवमा सहभागी गराउने प्रदेश सरकारले लक्ष्य निर्धारण गरेको छ ।

टीएमजेलाई गुराँसको राजधानी मानिन्छ । नेपालमा पाइने गुराँसका ३२ प्रजातिमध्ये यस क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छ ।