काठमाडौँ । ०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो चुनावमा संखुवासभाका तत्कालीन दुवै निर्वाचन क्षेत्रमा कांग्रेसले विजयी झण्डा फहरायो । ०७० देखि ०७४ को कार्यकालमा संखुवासभाले विकासको खाका कोर्न सक्यो ।
तर, ०७४ सालको चुनावमा प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र कायम भएको संखुवासभामा कांग्रेसले हार बेहोर्यो । त्यसपछिको पाँच वर्ष जिल्लाले दमित आर्थिक विकासको चरणबाट गुज्रनु पर्यो।
अहिले कांग्रेससहितको पाँच दलीय गठबन्धनका उम्मेदवार जुन टोलमा पुग्छन्, टोलवासीले विकासका माग अगाडि सार्छन् । त्यसमा पनि प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेद्वार दीपक खड्कासँग स्थानीय बासिन्दाको अत्यधिक आशा र भरोसा देखिन्छ।
नहोस् पनि किन ? संविधानसभा सभासदका रूपमा संविधान लेख्ने दायित्वका साथमा खड्काले आफ्नो जिल्ला विकासको खाका कोरेका थिए । तत्कालीन क्षेत्र नम्बर २ का १५ वटा गाविस जोड्ने गरी रिङरोडको रेखांकन गरे । त्यसको ट्रयाक ओपनिङमा केन्द्रित भए । धनकुटाको लेगुवाबाट खाँदबारी जोड्ने अरुण गडतिरको सडक कालोपत्रे अगाडि बढाए ।
एकसाथ चारवटा मोटरेबल पुल शिलान्यास गरे । खानेपानी तथा सरसफाइ राज्यमन्त्री बनेका उनले जिल्लामा बृहत् खानेपानी आयोजना अगाडि बढाए । अरुण नदीबाट पानी तानेर तुम्लिङटारमा लिफ्ट सिस्टममार्फत पानी वितरण गरे । बसाइँ सराइको चपेटामा परेको तुम्लिङटारका बासिन्दाले अहिले खानेपानी मात्र होइन, सिँचाइका लागि पनि पानी पाएका छन् ।
खड्काको गृहपालिका धर्मदेवी नगरपालिकामा लिफ्ट सिस्टमको खानेपानी आयोजना निर्माणाधीन छ, अहिले । यसलाई ‘पानी क्रान्ति’कै रूपमा व्याख्या गरिरहेका छन्, जिल्लाबासी ।
टोल टोल जोड्ने सडकका लागि सांसद विकास कोषलगायत सरकारी ढुकुटीबाट रकम विनियोजन गराए । यस्तै विकास आयोजनामार्फत उनले जिल्लामा विकासका बाहक नेताको छवि बनाए।
तर, जब उनी ०७४ सालको प्रतिनिधिसभा चुनावमा पराजित भए, निर्वाचित भएका एमाले सांसद राजेन्द्र गौतमको ध्यान खड्काले शुरु गराएका विकास परियोजनाहरू रद्द गराउन या ढिलो गराउने केन्द्रित भयो। साविकका १५ गाविस (हाल ४ नगरपालिका) जोड्ने चक्रपथ रातो किताबबाटै हटाइदिए।
यो सडकका लागि विनियोजित ६७ करोड रुपैयाँ अन्यत्रै पठाइदिए। चारवटा पुल निर्माणलाई गति दिन चासो दिएनन् । खड्काले शुरु गराएका जिल्लाभरका विकास आयोजना या त रद्द भए, या अगाडि बढेनन्। १५ बेडका पालिकास्तरका अस्पताललाई कांग्रेसको पकड रहेका पालिकामा ५ बेडमा खुम्च्याइदिए। विकासविरोधि नेताका रूपमा गौतमले आफूलाई उभ्याए।
यसैगरी योगमाया विश्वविद्यालयलाई संखुवासभामा ल्याउनै नदिन अभियान चलाए। सांसद विकास कोषको रकम कहाँ खर्च भयो, जिल्लावासीले पत्तो पाएनन्। राष्ट्रिय बजेट एक सुको आएन जिल्लामा।
अहिले उनै गौतम खड्कासँग चुनावी प्रतिस्पर्धामा छन्। खड्का जहाँ पुग्छन्, गौतमले आफूहरूमाथि अन्याय गरेको गुनासो सुन्छन्। साथमा स्थानीय बासिन्दाले खड्कालाई विकास आयोजनाहरूको सूची हस्तान्तरण गर्छन्।
एक उदाहरण हुन सक्छ, मादी नगरपालिका २ उम्लिङ। मादी नगरपालिकाको १ नम्बर वडामा पर्ने उम्लिङका बासिन्दाको आफ्नै पीडा छ। लामो समयदेखि गाउँ जोड्ने सडकको ट्रयाक ओपन गरिदिन उनीहरूले नेताहरूलाई हार गुहार गरे। तर, कसैले सुनेनन्। ०७० सालमा कांग्रेस युवा नेता खड्कालाई भोट दिए, उनैले सांसद विकास कोषमार्फत् गाउँसम्म सडक जोडिदिए।
तर, ०७४ सालको प्रतिनिधिसभा चुनावमा उनलाई एमालेका गौतमले पराजित गरे। त्यसपछि ट्रयाक ओपन भएको धुले सडकको कन्तविजोग भयो। गौतमलाई सडकलाई ग्राभेल गरिदिन उनीहरूले अनुनय विनय गरे। तर, उनले सुनेको नसुन्यै गरिदिए।
मादी नगरपालिकाका तत्कालीन मेयर विदुर लिङ्थेपसँग पनि उनीहरूले गुहार मागे। उनले स्थानीय स्वास्थ्यचौकी उदघाटनमा आउँदा भनिदिए, ‘हामी कसैको ससुराली जाने सडक बनाउँदैनौं।’ उनै लिङ्थेप अहिले प्रदेशसभाका प्रत्यक्ष उम्मेद्वार बनेका छन्, एमालेबाट।
पारिपट्टि धर्मदेवी नगरपालिकाको मदानसिंहसम्म बस चल्छ, वारिपट्टी मादी(१ मा ट्रयाक्टर चल्न पनि मुस्किल छ।
यसपटक उनीहरू दीपक खड्कालाई नै मत दिने पक्षमा छन्। उनले मात्र विकास बुझेकामा प्रष्ट देखिन्छन् स्थानीय बासिन्दा।
जिल्लाको दुर्गम सिलिचोङ गाउँपालिका जोड्ने सडक कालोपत्रे गर्न गौतमले वास्ता नै गरेनन्, त्यस सडकका लागि आवश्यक अरुण नदीमाथिको मोटरेबल पुल निर्माणको डीपीआर नै उल्ट्याइदिएर अलमल गराइदिए। अन्ततः सिलिचोङ बितेको पाँच वर्षमा अरुणपारि नै खुम्चिन विवश बन्यो।
जोगवनीबाट किमाथांका जोड्ने कोशी राजमार्ग कालोपत्रे गराउन सांसद गौतमको कुनै चासो देखिएन। मकालु गाउँपालिकाका लागि आवश्यक ४ वटा मोटरेबल पुल खड्काले नै बनाईदिनेमा स्थानीय बासिन्दा ढुक्क देखिन्छन्। मकालु हिमालको आधारशिविर पुग्ने पदमार्गको स्तरोन्नतिमा खड्काको भूमिका मुख्य रहनेमा स्थानीय बासिन्दाको विश्वास देखिन्छ।
तीनजुरे(मिल्के(जलजले क्षेत्रको मंगलवारेबाट मादी नगरपालिका जोड्ने सडक पनि खड्काले नै कालोपत्रे गराइदिने आशा स्थानीय बासिन्दाले गरेका छन्। पाँचखपन नगरपालिकाका बासिन्दा पनि गौतमले पाँच वर्षमा आफ्नो पालिकालाई विकासमा पछाडि पारेकामा रुष्ट छन्।
‘कांग्रेसले जित्यो भनेर हाम्रो पालिकालाई गौतमले देखिसहेनन्, एमालेको कार्यकर्ता पनि रुष्ट छन्,’ पाँचखपनका मेयर विपिन राई भन्छन्। उनका अनुसार पाँचखपनमा निर्माणाधीन बृहत् खानेपानी आयोजना गौतमले अलपत्र पारिदिए।
चैनपुरबाट बाह्रविसे र बाह्रविसेबाट खाँदबारी जोड्ने दुवै सडक गाडी गुडाउन योग्य छैनन्। दुवै सडकको कालोपत्रे खड्काले नै गराइदिने आशा स्थानीय बासिन्दाको छ । यी दुवै सडक स्तरोन्नतिको साटो गौतमले कोशी(ल्हासा फास्ट ट्रयाकको गफ चुटेर पाँच वर्ष बिताइदिए। त्यसैमा पनि माखो मारेनन्।
‘हिजो भिजन नभएका विकासविरोधि नेतालाई जिताउँदा हामीले भोगेको सास्ति वर्णन गरेर साध्य छैन, त्यसैले यसपटक जिल्लाको विकास अगाडि बढाउन दीपक खड्कालाई जिताउन लागिपरेका छौं,’ एकीकृत समाजवादीका सभापोखरी गाउँपालिका उपाध्यक्ष लालबहादुर श्रेष्ठ भन्छन्।
ग्रामीण सडक पनि खड्काले नै स्तरोन्नति गरिदिने आशा जिल्लावासीमा देखिन्छ। जुनसुकै टोलमा पुग्दा पनि खड्कासँग स्थानीय मतदाताले पहिलो मागका रूपमा सडकलाई नै अगाडि सार्झन्, चाहे त्यो राष्ट्रिय राजमार्ग होस्, चाहे जिल्लास्तरीय या ग्रामीण सडक।
‘संखुवासभाको भविष्य उज्ज्वल बनाउन यसपटक प्रतिनिधिसभामा दीपक खड्कासहित प्रदेशसभाका दुव सिटमा गठबन्धनले जित्नैपर्छ,’ माओवादी नेता तथा निवर्तमान प्रदेश सांसद पूर्णप्रसाद राई भन्छन्।
यी मागहरूमा प्रतिनिधिसभा उम्मेद्वार खड्का पूर्ण रूपमा सकारात्मक छन्। भन्छन्, ‘किमाथांका सडकलगायत कनेक्टिभिटी र विकास पूर्वाधारका असंख्य आयोजनामा ठूलो काम गर्नुछ यसपटक। नत्र हाम्रो जिल्ला अझ पछाडि पर्नेछ। बितेको ५ वर्षमा संखुवासभा विकासमा २५ वर्ष पछाडि पर्यो। फेरि हामीले चुनाव हार्यौं भने आगामी तीनवटा निर्वाचनमा संखुवासभामा नचिहाए पनि हुन्छ। विकासमा संखुवासभा एक सय वर्ष पछाडि पर्नेछ।’
चुनावमा विजयी हुनु भनेको ५ वर्षे जागिर सुनिश्चित गर्नु नभएकामा उनी प्रष्ट छन्। भन्छन्, ‘विगतका सांसदहरूजस्तो म जागिर खान सांसद बन्न खोजेको होइन, संखुवासभाको विकासबाहेक कुनै उद्देश्य छैन। मेरो लक्ष्य समृद्ध संखुवासभा मात्र हो। यही बुझेर मतदाताको अत्यधिक भोट पाउनेमा विश्वस्त छु।’
उनी ०७४ सालमा प्रतिनिधिसभामा पराजित हुँदा पनि मौन बसेनन्। सिलिचोङ गाउँपालिकामा पहिरो खस्दा पीडित स्थानीयवासीको उद्धारमा राज्यभन्दा पहिले पुगे।
कोभिड महामारीमा राज्यभन्दा पहिले टाढाका शहरमा रहेका जिल्लावासीलाई घरगाउँमा ल्याइदिए। साना ठूला सबै प्रकारका आपत विपतमा उनी जिल्लावासीसँगै देखिए।ुजिते पनि, हारे पनि उहाँ निरन्तर जिल्लामा आइरहनु हुने आशा छ,ु भोटखोला गाउँपालिकाका बासिन्दा रामकुमार भोटे भन्छन्।
कांग्रेस नेतृ तथा संविधानसभा सभासद् विना पौडेल एमालेले चिप्ला कुरा गरेर संखुवासभालाई निरन्तर ठगिरहेको बताउँछिन्। एमालेले जिल्ला बाहिरका नेतालाई चुनाव लडाउने, मतदातामाझ चिप्ला कुरा गरेर जिताउने र जितेका नेताहरू फर्केर नआउने प्रवृत्तिले निरन्तरता पाएको उनको भनाइ छ।
‘कांग्रेसले चुनाव जिते मात्र संखुवासभाको विकास हुन्छ, नत्र फेरि एमालेले चुनाव जितेमा एमालेका नेताले फेरि चिप्ला कुरा गर्छन्, जिल्लाको विकास गर्दनन्,’ उनी भन्छिन्, ‘संखुवासभाको विकास गर्छु भनेर दीपक खड्का लागिपर्नुभएको छ। उहाँलाई जिताएर संखुवासभामा विकासको मुल फुटाउँछौं।’