बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलन बैंकक सोचपत्र, २०३० जारी गर्दै शुक्रबार सम्पन्न भएको छ ।
यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिमस्टेक बैंकक भिजनसहित ६ बुँदे प्रस्ताव पारित गरेको हो । पारित प्रस्तावबारे जानकारी दिन आयोजक राष्ट्र थाइल्यान्डका प्रधानमन्त्री पेथोङ्थान सिनावात्राले पत्रकार सम्मेलन गरेकी थिइन् ।
प्रस्तावमा बिमस्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन, यसको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठन, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता, भूकम्पबाट प्रभावित म्यान्मार र थाइल्यान्डलाई सहयोग गर्ने विषयसहितको संयुक्त वक्तव्य, पर्यटन र संस्कृतिलाई प्राथमिकता दिँदै जनता-जनताको सम्पर्क विस्तारका विषयहरू छन् ।
थाई प्रधानमन्त्री शिनावात्राले शिखर सम्मेलनको सम्मुखमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको पहिलो औपचारिक भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताइन् । प्रधानमन्त्री ओलीले ‘बिमस्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन् ।
सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिमस्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनर्जीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्ने बताए । जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा संकट सिर्जना गरेको उल्लेख गर्दै उनले यहाँका हिमालयहरू एसियाका लागि पानीका स्रोत भएको भन्दै यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पुर्याइरहेको र हाम्रो तर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नु परिरहेको बताए ।
पहाडहरूको दुर्दशा र पहाड-महासागरबीचको सम्बन्धलाई उजागर गर्न नेपालले आगामी मे महिनामा ‘सगरमाथा संवाद’को पहिलो संस्करण आयोजना गर्न लागेकोसमेत उनले जानकारी दिए ।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा नेपाल सन् २००४ मा सदस्य बनेको हो । बिमस्टेकमा नेपालसहित दक्षिण एसियाका पाँच देश (भारत, बंगलादेश, नेपाल, भुटान र श्रीलंका) र दक्षिण-पूर्वी एसियाका दुई देश (थाइल्यान्ड र म्यानमार) सदस्य छन् ।