प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सोमबार बसेको बैठक प्रतिपक्षी दलको अवरोधपछि आधा घन्टाको लागि स्थगित भएको थियो ।
यसबीचमा सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग बसेर सहमति प्रयास गरेका थिए । सहमति टुंगोमा पुग्न नसकेपछि बैठक बुधबार १ बजेका लागि स्थगित गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।
भिजिट भिसा प्रकरणले संसद बैठक निरन्तर स्थगित हुँदै आएको छ । प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामासहित छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । तर, गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने सत्तापक्षले अडान लिँदै आएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले छानबिन समिति आवश्यक नरहेको सत्तापक्षको तर्क छ ।