नेपाली सेनाका पाँच सदस्यसहित दश जनाले गरे सगरमाथा आरोहण

Yangle News
Yangle News
२०८० जेष्ठ १ गते
नेपाली सेनाका पाँच सदस्यसहित दश जनाले गरे सगरमाथा आरोहण

नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न टोलीका पाँच जना सैनिकसहित १० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् ।

टिम लिडर प्रमुख सेनानी किशोर अधिकारी, सहसेनानी विष्णुबल राई, सहसेनानी दिपेन्द्रसिंह खत्री, अमल्दार शङ्कर कुँवर र प्युठ किशोर जबेगु सोमबार बिहान १० बजेर ५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनीहरुसँगै अभियानका सहभागी सरदार ओङ्छु शेर्पालगायत पाँच जना शेर्पाले पनि सगरमाथा आरोहण गरेका छन् । यसअघि गत वैशाख ४ गते सफा हिमाल अभियानकै सिलसिलामा अन्नपूर्ण सफाइ टोलीका सदस्यले अन्नपूर्ण हिमालको सफल आरोहण गरिसकेका छन् ।

गत चैत १४ गते जङ्गी अड्डामा आयोजित ‘फ्ल्याग अफ सेरेमोनी’ मा प्रधानसेनापति प्रभुराम शर्माले झण्डा हस्तान्तरण गरी सफा हिमाल अभियान सुरु गरिएको थियो ।

अभियानबाट करिब ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म ३२ हजार तीन सय ११ किलो फोहर सङ्कलन भइसकेको छ । यो अभियान विश्ववातावरण दिवसमा समापन हुने निर्देशनालयले जनाएको छ ।

 

 

390 views