त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा एक महिनासम्म निषेधाज्ञा

Yangle News
Yangle News
२०८२ माघ २९ गते
त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा एक महिनासम्म निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा एक महिनासम्मका निम्ति निषेधाज्ञा जारी गरेको छ । बिहीबार (माघ २९)देखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

यो अवधिमा उक्त क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभाजस्ता विरोधका कार्यक्रम गर्न नपाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जारी गरेको आदेशमा उल्लेख छ । ‘मिति २०८२/१०/२९ गतेदेखि लागु हुने गरी अर्को व्यवस्था नभएसम्म १ (एक) महिनासम्मका लागि विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला, जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ ।

 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत केही राजावादी समूहले उक्त क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरिरहँदा प्रशासनले रोक लगाएको हो । ‘निषेध आदेश जारी गरिएका क्षेत्रबाहेकका स्थानमा नेपालको संविधानबमोजिम प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं बिनाहातहतियार शान्तिपूर्ण रूपमा भेला जम्मा भई विरोधका कार्यक्रममा सहभागी हुन पाउने हक रहेकोप्रति स्थानीय प्रशासन सदैव प्रतिबद्ध रहेको छ,’ आदेशमा उल्लेख छ ।

निषेधित र संवेदनशील क्षेत्रमा कानुन विपरीतका कार्यहरूमा संलग्न हुने जोसुकैलाई प्रचलित कानुनबमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयको आदेश :

Yangle News