प्रधानमन्त्री सुशीला कार्कीले योग्य मतदातालाई आजै मतदाता परिचयपत्र बनाउन आह्वान गरेकी छन् ।
आज एक भिडियो सन्देश जारी गर्दै उनले योग्य व्यक्तिलाई मतदाता परिचयपत्र बनाउन आह्वान गरेकी हुन् । प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभूत साधन भएको र ती साधनहरू विवेक र मतदान भएको बताइन् ।
उनले आफ्नो विवेकको प्रयोग गरी सही व्यक्तिलाई मतदान गरेर निर्वाचित गराउन र आफैँ पनि प्रतिनिधि बन्न आग्रह गरिन् । ‘लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभूत साधन छन् । पहिलो तपाईं हामी नागरिकको विवेक हो । त्यो विवेक जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन । दोस्रो त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन तथा मतदाता परिचयपत्र हो । जेनजी युवा र समस्त नेपालीको सपना नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं हामीले मतदाता परिचयपत्र बनाउनुपर्छ । त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताइन् ।