सवारी चालक अनुमति पत्र तत्काल उपलब्ध गराउनु : प्रधानमन्त्री

Yangle News
Yangle News
२०८० माघ ८ गते
सवारी चालक अनुमति पत्र तत्काल उपलब्ध गराउनु : प्रधानमन्त्री

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमति पत्र (लाइसेन्स) कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीका विषयमा भएको छलफलमा प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै यातायात व्यवस्था विभागलई तत्काल लाइसेन्स उपलब्ध गराउन प्रधानमन्त्रीले सचेत गराए

प्रधानमन्त्री आफूले सेवा प्रदायक कार्यालयमा लाग्ने गरेको लामो लाइन हटाउन प्रतिबद्धता गरेको स्मरण गर्दै एक वर्षमा देखिने गरी सुधार भए पनि पूरै सुधार नभएको बताए । उनले त्यसलाई गम्भीर रूपमा ध्यान दिन र सेवाप्रदायक कार्यालयको कार्यक्षमता बढाउन निर्देशन दिए ।

बैठकमा निर्देशकहरूले राष्ट्रिय परिचयपत्र, राहदानी र सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, सेवाप्रदायक कार्यालयका समस्या र आगामी कार्ययोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

त्यस अवसरमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अर्को हप्तादेखि लाइसेन्स छपाइको प्रक्रिया अगाडि बढ्ने बताउँदै नयाँ छपाइको प्रक्रियाका लागि टेन्डर प्रक्रियाको अध्ययन भइरहेको बताए ।

राहदानी विभागका महानिर्देशक लक्ष्मण खनालले दसैँयता राहदानी विभागमा सेवाग्राहीको भीड नरहेको बताउँदै रातिसम्म काम गरेर सिफ्ट प्रणालीमा द्रूत सेवामा सेवा प्रवाह भइरहेको बताए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्र वितरणमा प्रगति भएको बताउँदै एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गरेर लैजानुपर्ने बताए ।