आगामी बुधवार अर्थात जुन २१ का दिन चिनियाँ सहर छन्तुबाट पोखरामा सिधा उडान हुने भएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार पोखरामा आयोजना हुने ड्रागन बोट फेस्टिबलका लागि चार्टर उडान हुन लागेको हो ।
चिनियाँ ड्रागन बोट फेस्टिबलमा पोखरामा नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासको आयोजनामा प्रतियोगिता हुँदैछ । प्रतियोगितामा चीनका युनान नर्मल युनिभर्सिटी, सिचुवान प्रान्तको लुझौ नगरपालिका र सिंगापुरको गरि ८ टिम सहभागी हुँदैछन् ।
नेपाल चीन सांस्कृतिक आदान प्रदानका लागि प्रतियोगिता आयोजना हुन लागेको दूतावासले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीले २०० र ५०० मिटर रेसमा प्रतिस्पर्धा गर्नेछन् । सो क्रममा पोखरामा फड फेस्टिबल तथा अन्य सांस्कृतिक कार्यक्रम हुनेछन् ।
सांस्कृतिक कार्यक्रममा तिब्बतको लिचि आर्ट ट्रुपले प्रस्तुती दिने दूतावासले जनाएको छ ।
यसैबीच दूतावासले चीनबाट २० पत्रकारलाई कार्यक्रममा सहभागी गराउने भएको छ । नेपालको पर्यटन प्रवर्द्धनका लागि भन्दै २० चिनियाँ पत्रकारलाई कार्यक्रममा सहभागी गराउने भएको हो ।