अब पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा व्यावसायिक उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित उडान सञ्चालन गर्न फ्लाई दुबईलाई अनुमति दिएको हो । दुबई एभिएसन कर्पोरेसन फ्लाई दुबईले आगामी असोज ७ गते देखि एक महिनासम्म दैनिक उडान सञ्चालन गर्ने प्रस्ताव पेस गरेपछि अनुमति दिइएको हो ।
अनुमति अनुसार बोइङ-७३७ विमान प्रत्येक दिन बिहान ८ बजेर ५ बजे मिनेटमा पोखरा अवतरण गर्नेछ भने ९ बजेर ५ मिनेटमा दुबईका लागि उड्नेछ । फ्लाई दुबईले पोखरा–दुबई सिधा उडानका लागि अनुमति मागेको थियो । सोही अनुसार अनुमति दिएको प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले बताउनभयो । पोखरा–दुबई उडान अवधि करिब पाँच घण्टाको हुनेछ ।
दुबईलाई अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा प्रयोग गर्ने यात्रु तथा पर्यटकले यस सेवाबाट लाभ लिन सक्ने उहाँले बताउनुभयो । हाल फ्लाई दुबईले काठमाडौं–दुबई सिधा उडान सञ्चालन गर्दै आएको छ । कम्पनीले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै पोखराबाट उडान सम्भाव्यताबारे अध्ययन गर्दै आएको थियो । प्रारम्भिक एक महिनाको उडानपछि थप तालिकाबारे निर्णय गरिने जनाइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि हिमालय एयरलाइन्सले चीनको ल्हासासम्म नियमित उडान सञ्चालन गरेको थियो । पर्याप्त यात्रु नपाएपछि उक्त सेवा हाल स्थगित छ । विमानस्थलबाट चीन, भुटान र भारतका विभिन्न गन्तव्यमा चार्टर उडान भने बेलाबेला हुँदै आएका छन् ।
दुबईसँगको प्रत्यक्ष हवाई सम्पर्क हुने भएपछि व्यवसायी खुसी भएका छन् ।