यो सिजन किन घटे आप्रवासी चरा ?

Yangle News
Yangle News
२०८० पुस १८ गते
यो सिजन किन घटे आप्रवासी चरा ?

 

हिउँदका बेला कञ्चनपुरका ताल तथा नदीलगायत सिमसार क्षेत्रमा बसाइँ सरेर आउने आप्रवासी चराको चहलपहल घटेको विज्ञले बताएका छन् । जलवायु परिवतर्नको असर, आहाराको कमीलगायत कारणले बसाइँ सरेर आउने चराको सङ्ख्यामा कमी देखिएको हो । सिमसार क्षेत्र मानव अतिक्रमणको चपेटामा परी खुम्चिँदै गएको र ताल पुरिँदै जाँदा जलपक्षीलाई असर परेको छ ।

नेपाल पक्षी संरक्षण सङ्घका चरा विज्ञ हिरुलाल डगौराले बसाइँ सरेर आउने चराको बासस्थान खुम्चिँदै गएको, जलाधार क्षेत्र अतिक्रमणको चपेटा परेको, निकुञ्जभित्रका तालतलैया नरकटे र जलकुम्भीलगायत वनस्पतिका कारण पुरिँदै जादाँ पक्षीहरुलाई बासस्थानको कमी भएको बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रानीताल, सिकारी ताल, कालीकिचताल नरकटेले भरिन थालेको उनले बताए ।

निकुञ्ज बाहिरको बेलौरी नगरपालिका–६ भुराकोटमा पर्ने पुरैनी ताल बसाइँ सारेर आउने चराको मुख्य क्षेत्रका रूपमा रहेको छ ।

उनले भने ‘त्यस तालमा ५५ प्रजातिका जलपक्षीको विगतमा रेकर्ड गरिएको थियो’, उनले भने, ‘अहिले त्यस तालमा २८ प्रजातिका चरामात्रै देखिएका छन् ।’

अठ्ठाइस बिघा क्षेत्रफलमा फैलिएको तालमा हरिटाउके हाँस, जुल्फे हाँसलगायत पक्षी यस वर्ष देखिएका छैनन् । हाँस प्रजातिका चरा, सारस र भुडिफोर गरुड पनि यस तालमा हिउँदका बेला देखिने गरेका थिए ।

साइबेरिया, कीर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलियालगायत क्षेत्रमा माइनस डिग्री तापक्रम पुग्ने भएकाले चरा जाडो छल्नका लागि हिमाल छिचोल्दै कञ्चनपुरका नदी ताल क्षेत्रमा आउने गर्दछन् ।

 

चिसो छल्न र आहारको कमी भएपछि आहारा खोज्नका लागि चरा आउने प्रक्रिया वर्षौँदेखि यहाँ निरन्तररूपमा चल्दै आएको छ । बसाइँ सरेर आउने चरामा अधिकांश जलपक्षी र सिकारी प्रजातिका पक्षी रहने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निञ्कुजभित्रका सिकारीताल, कालीकिच, बाबाताल, सलगौडीताल, रानीताललगायत अप्रवासी चराका लागि गन्तव्यका रूपमा रहेका छन् ।

निकुञ्ज बाहिरका बन्दाताल, महाकाली, चौधर, स्याली, सनबोरा, दोदा नदीलगायत क्षेत्रमा पनि अप्रवासी चरा देखिने गरेका छन् । असोजको पहिलो हप्तादेखि बसाइँ सरेर चरा आउने क्रम पुसको दोस्रो हप्तासम्म जारी रहने गर्दछ । गर्मी बढ्न थालेपछि चैतदेखि पाहुना चरा पुरानै ठाउँमा फर्कने गर्दछन् ।

चराविज्ञ डगौराका अनुसार प्रतिवर्ष नेपालमा एक सय ५० प्रजातिका चरा जाडो छल्नकै लागि आउने गरेका छन् । तीमध्ये आधा हाँस प्रजातिका चरा रहने गरेका छन् । कञ्चनपुर र कैलालीका ताल, नदी र सिमसार क्षेत्रमा ३० भन्दा बढी प्रजातिका पक्षी बसाइँ सरेर आउने गरेको छ ।

उनका अनुसार मालक हाँस, खरखसे हाँस, हरियो टाउके हाँस, सिन्दुरे हाँस, कैलेटाउके हाँससहित जीवल फिस्टो, डुबुल्के, लालकण्ठे, झेकझेक भ्रयाप्सी, खैरो भद्राइ, मोटोठाँडे, ट्याकट्याकेलगायत पक्षी पनि बसाइँ सरेर आउने गरेको यहाँ देखिन्छ ।

‘निञ्कुज क्षेत्रभित्रका तालक्षेत्र चराका लागि सुरक्षित भए पनि निकुञ्ज बाहिर रहेका ताल माछापालनका लागि ठेक्कामा दिने चलन बढ्दै गएकाले हिउँदे बसाइँका लागि आउने चरालाई आहारको कमी हुन थालेको छ’, उनले भने, ‘प्राकृतिक तालमा माछापालन गर्न थालेपछि चरालाई पटाका पड्काएर भगाउने, विषादी प्रयोग तथा गुलेली हानेर मार्ने कार्य हुन थालेको छ । मानव अतिक्रमणका कारण ताल सुक्न थालेपछि चरा जोगाउनका लागि निकै चुनौती थपिएको छ ।’