काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा होलीको रौनक

Yangle News
Yangle News
२०८१ फाल्गुन २९ गते
काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा होलीको रौनक

सद्भावनाको पर्व होली ‘फागु’, आज काठमाडौं उपत्यकासहित देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ ।

काठमाडौं उपत्यकामा फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिंगो) गाडेपछि फागुपर्व शुरू हुन्छ । पूर्णिमाको रातमा चीर ढालेर जलाएपछि समाप्त सकिन्छ । होलीको अवसरमा सरकारले आज पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराई भेगमा भने भोलि मनाउने चलन छ । तर पछिल्लो समय पहाडी क्षेत्रबाट बसाइ सरी गएका मानिसहरूले तराईमा आज पनि हर्षोल्लासपूर्ण तरिकाले होली मनाउने गरेका छन् । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।

काठमाडौं उपत्यकास्थित वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् । फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिँदैन नाचगान पनि गरिन्छ । होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेल्छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । होली पर्वका अवसरमा शुभकामना दिँदै उनले होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसंगति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गरे । राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

होलीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले पनि शुभकामना दिएका छन् ।

62 views