प्रधानमन्त्री केपी शर्मा ओलीले ३०० दिनभित्र त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको निर्माण सम्पन्न नभएको भन्दै स्पष्टीकरण सोधेका छन् । प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका हुन् ।
‘यो सरकार बनेपछि क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र फ्लडलाइटसहितको रंगशाला बनाउने निर्णय गरेको थियो । पर्सी २४ गते ३०० दिन पुग्दै छ । किन समयमै काम नसकेको भनेर सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर आज स्पष्टीकरण लिएको छु,’ उनले भने ।
निर्माण कम्पनीका प्रतिनिधिले तीन सिफ्टमा काम गर्दासमेत सम्पन्न हुन नसकेको प्रधानमन्त्रीलाई जवाफ दिएका थिए । ‘टियुको जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने प्रक्रियाको कानुनी समयसीमाले स्पेकमा गर्नुपरेको परिवर्तन र निर्माण थालेपछि पानी परेकाले कालो माटो पन्छाउन परेको अप्ठ्यारोले तीन सिफ्टमा काम गर्दा पनि समय सीमामा काम सम्पन्न गर्न सकिएन,’ निर्माण कम्पनीका प्रतिनिधिले भने ।
निर्माण कम्पनीले थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ़्लडलाइट जडानको काम पूरा गर्ने वाचा गरेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले थपिएको समयमा जसरी पनि काम सम्पन्न गर्न निर्देशन दिएका थिए । ‘आफूले थालेका कामलाई समयमै सक्न जवाफदेही हुनेगरी काम गर्नु पर्छ भन्ने सरकारको प्राथमिकता छ । कारण जेसुकै भए पनि तोकिएको दिनमा काम पूरा हुनु पर्थ्यो । थपिएको दिनमा काम पूरा नभए सरकारलाई सैह्य हुने छैन,’ प्रधानमन्त्रीले भनेका थिए ।
प्यारापिटतर्फ वित्तीय प्रगति ४५.१९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लड लाइटतर्फ वित्तीय प्रगति २३.८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो । प्यारापिटका लागि ४९ करोड २५ लाख ६७ हजार तीन सय दुई र फ्लडलाइटका लागि ४७ करोड ३७ लाख ६८ हजार ७७ मा सम्झौता गरिएको थियो ।