मनकामनाबाट दर्शनार्थी बोकेर आबुखैरेनीतर्फ आउँदै गरेको माइक्रो बस दुर्घटना हुँदा सात भारतीय पर्यटकको मृत्यु भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको हो ।
गोरखा जिल्लाको शहीद लखन गाउँपालिका-३ कन्टारमा शनिबार साँझ करिब ७:५५ बजे ईभी माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकसहित १४ जना सवार रहेको गाडी दुर्घटनामा पाँच पुरुष र दुई महिलासहित सात जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतक सबै भारतीय नागरिक भएको बताइएको छ ।
अन्य सात जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि आबुखैरेनीतर्फ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकले भने हाम्फालेर ज्यान जोगाएका हुन् । बसमा चालक र सहचालकबाहेक सबै यात्रु भारतीय थिए ।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २९ गुल्म गोरखाबाट सुरक्षा टोली खटिएको नेपाल प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेना पनि खटिएको छ ।