‘कर्मचारी मोहोरा मात्र हो, हामीमाथि ठूलो षडयन्त्र भएको छ’

Yangle News
Yangle News
२०८२ बैशाख १७ गते
‘कर्मचारी मोहोरा मात्र हो, हामीमाथि ठूलो षडयन्त्र भएको छ’

जनमत पार्टीका अध्यक्ष सीके राउतले रेशम चौधरीलाई पक्राउ गरेर एकता भाँड्न खोजेको आरोप लगाएका छन् ।

रेशम चौधरी रिहाइ भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले पक्राउको घटनालाई आफूहरुले ठूलो षड्यन्त्रको रूपमा लिएको बताए । उनले भने, ‘पार्टी एकीकरण हुने दिन नै रेशम चौधरीलाई पक्राउ गर्नुलाई हामीले ठूलो षड्यन्त्रको रूपमा लिएका छौं । हामीबीच हुने पार्टी एकता भाँड्ने प्रयास पनि हो ।’

उनले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई मोहोरा मात्र बनाइएको आरोप लगाए । ‘यस घटनामा ठूलै षड्यन्त्र भएको छ । कर्मचारीलाई त मोहोरा मात्र बनाइएको हो,’ उनले भने । अध्यक्ष राउतले पार्टी एकीकरण भएरै छाड्ने भए । त्यसका लागि आवश्यक छलफल हुने बताए । ‘उहाँ रिहा भइसक्नुभएको छ । अब हामी यस घटनालाई समीक्षा गर्छौं । पार्टी एकीकरण त भएरै छाड्छ,’ उनले भने ।

त्यस्तै रेशम चौधरीका बुबा लालवीर चौधरीले भोलि नै पार्टी एकता हुने बताए । ‘भोलि नै पार्टी एकता हुन्छ । हामी अझ बलियो भएर आउनेछौं,’ उनले भने ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज प्रज्ञा प्रतिष्ठानमा एकता घोषणा हुँदै थियो । त्यसै क्रममा सादा प्रहरीले रेशम चौधरीलाई पक्राउ गरेका थिए । महिमानसिंहले जारी गरेको पत्रका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर, पत्र नै शंकास्पद देखिएपछि सर्वोच्च अदालतले अर्को पत्र जारी गरेर रेशमलाई थुनामुक्त गर्न निर्देशन दिएको थियो ।

नक्कली पत्र जारी गर्ने विष्ट पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

103 views