शीतलनिवास बैठक : निर्वाचनको वातावरण बनाउने समझदारी

Yangle News
Yangle News
२०८२ पुस ८ गते
शीतलनिवास बैठक : निर्वाचनको वातावरण बनाउने समझदारी

राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका तीन ठूला दलका नेतृत्व र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री कार्कीसँग राष्ट्रपति पौडेलले छलफल गरेका हुन् । आज दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास भएको छलफलमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ । देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिन चुनावको घोषणा भएकाले गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु सबैको एक मात्र दायित्व भएको छलफलका क्रममा राष्ट्रपति पौडेलले बताएको प्रेस सल्लाहकार पोखरेलले जानकारी गराए ।

राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका छन् ।