नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरको उडान रोक्ने निर्णय गरेको छ । प्राधिकरणले आगामी अक्टोबर २९ (वीन्टर सेड्युल) अर्थात आगामी कात्तिक १२ गतेपछि कोरियन एयरको नियमित उडान रोक्ने निर्णय गरेको हो ।
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई कोरियाको नागरिक उड्डयन निकायले उडान अनुमति नदिएपछि कोरियन एयरले नियमित गरिरहेको उडान रोक्ने प्राधिकरणले जनाएको हो ।
सामान्यतया दुई देशबीच नियमित उडान हुन हवाइ सेवा सम्झौता हुनुपर्छ । नेपालले कोरियासँग उडानका लागि सन् २००१ मा नै हवाइ सम्झौता गरेको थियो ।
जसअनुसार कोरियन एयरले नेपालका लागि सातामा चार उडान र नेपाल एयरलाइन्सले कोरियाका लागि सातामा चारवटै उडान गर्न पाउनुपर्ने हो । कोरियन एयरले अहिले नेपालमा साताको चार वटा उडान गरिरहेको छ । तर, हवाई सम्झौतामा दुई देशले नै उडान गर्न पाउने उल्लेख भएपनि कोरियन उड्डयन निकायले लामो समयदेखि अडिटको विषय उठाउँदै नेपाली वायु सेवा कम्पनीलाई उडान गर्न नदिएको प्राधिकरणका एक कर्मचारीलाई जानकारी दिए ।
अब भने कोरियन नागरिक उड्डयन निकायले नेपाल वायुसेवालाई उडान अनुमति नदिए प्राधिकरणले कोरियन एयरलाइन्सको उडान रोक्नेछ ।