निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने स्पष्ट पारेको छ । आज आयोगको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने र तोकिएको समय अर्थात् माघ ६ गते मनोनयन दर्ता हुने बताएका हुन् ।
कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरेर अब माघको ६ गते मनोनयन पत्र दाखिल गर्ने समय आएको उनले बताए । उनले मनोनयन दाखिला प्रक्रियाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । भण्डारीले निर्वाचन आचारसंहिता लागू भएको अवगत गराउँदै यी सबै कार्यक्रम चार महिना अगाडि प्रकाशित भएको कार्यतालिकाअनुसार कार्यसम्पादन भइरहेको बताए । अब कुनै पनि विषयवस्तुलाई संशोधन गर्ने थप्ने घटाउनेलगायत काम नहुने उनको भनाइ छ ।
उनले तोकिएकै मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन हुने धारणा राखे । आयोगले निर्धारण गरेको निर्धारित समयभित्र मनोनयन पत्र दाखिल हुनुपर्ने र दाखिला भइसकेपछि जाँचबुझ गर्ने लगायतका कानुनी प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।
यसैबीच, उनले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजालगायत तडकभडक नगर्न चेतावनी दिएका छन् । उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न उनले चेतावनी दिएका हुन् । तडकभडकलाई कानूनले पूर्ण रुपमा निषेध गरेको र आचारसंहिताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरू नगर्न सचेत गराए ।
आचारसंहिता उल्लंघन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी पनि उनले दिए । निष्ठापूर्वक आचारसंहीतालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न उनले आग्रह गरे । ‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक हुन्छ । यो पूर्ण रुपमा कानुनले निषेध गरेको छ । आचारसंहिताले निषेध गरेको छ,’ भण्डारीले भने ।