नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन)हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं वार्षिक साधारण सभा (एजीएम)लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अहिले राजनीतिक स्थिरता कायम भएको र लगानीको अनुकूल वातावरण बनेको बताए । उनले जलविद्युत्, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन् । विश्वभर भइरहेका द्वन्द्व र कोभिड-१९ जस्ता महामारीको उदाहरण दिँदै उनले जस्तोसुकै परिस्थितिमा पनि मातृभूमि नै अन्तिम गन्तव्य र प्राथमिकता हुने उल्लेख गरे ।
विगतमा केही एनआरएनहरूले व्यक्तिगत रूपमा गरेका लगानीमा सही साझेदार नपाउँदा वा सही ठाउँमा लगानी नहुँदा समस्या आएको गुनासो सुनिए पनि ती केवल ‘अपवाद’ मात्र भएको उनले स्पष्ट पारे । नेपालमा पहिलो पटक दर्ता भएको ‘एनआरएन इन्भेस्टमेन्ट कम्पनी’सँग महासंघले सहकार्य गरेर एउटा आयोजना अगाडि बढाइसकेको जानकारी दिँदै उनले संस्थागत लगानीमा जोड दिए ।
अध्यक्ष ढकालले भने, ‘अहिलेको विश्व परिवेश हेर्दा, चाहे मध्यपूर्वको द्वन्द्व होस् या कोभिडको समय, अन्तिममा फर्किने ठाउँ भनेको आफ्नै जन्मभूमि हो । म आफैँ एक उद्यमी र निजी क्षेत्रको छाता संगठनको अध्यक्षको हैसियतले भन्छु- नेपालमा जुनसुकै व्यावसायिक क्षेत्रमा लगानी गरे पनि जति सम्भावना र अवसर यहाँ छ, सायदै अन्यत्र कतै होला ।’
मुलुकमा अहिले स्थायी सरकार बनेको र यसले निजी क्षेत्र तथा एनआरएनले खोजेको राजनीतिक स्थिरता दिएको उनको भनाइ छ । महासंघकै पहलमा सरकारले ‘उच्चस्तरीय आर्थिक सुधार आयोग’ गठन गरेको र स्वदेशी तथा विदेशी लगानी (एफडीआई) भित्र्याउन थुप्रै कानुनहरू परिमार्जन भइरहेको उनले जानकारी दिए ।
नेपालमा पुँजी र सम्भावना छैन भन्ने नकारात्मक भाष्यलाई चिर्न महासंघ, सीएनआई, चेम्बर र एनआरएन लगायतको सहभागितामा १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)’ कम्पनी स्थापना गरी काम सुरु भइसकेको उनले बताए । एनआरएनहरूसँग कुनै नयाँ ‘इनोभेसन’ वा आयोजना भएमा त्यसमा एनडीपी कम्पनीले ‘इक्विटी’का रूपमा लगानी गरिदिने उनले घोषणासमेत गरे ।