मलेसियाविरुद्धको टी-ट्वान्टी श्रृंखलामा नेपालको खराब सुरुवात

Yangle News
Yangle News
२०८२ अशोज १६ गते
मलेसियाविरुद्धको टी-ट्वान्टी श्रृंखलामा नेपालको खराब सुरुवात

मलेसियाविरुद्धको टी-ट्वान्टी श्रृंखलामा नेपालले खराब सुरुवात गरेको छ । श्रृंखलाअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोलीविरुद्ध नेपाल झिनो अन्तरले पराजित भएको हो ।

नेपाललाई ३ रनले पराजित गर्दै मलेसियाले पाँच खेलको श्रृंखलामा १-० को अग्रता बनाएको छ । क्वालाम्पुरस्थित बायुमास ओभलमा अन्तिम ओभरमा सात रन चाहिएको अवस्थामा नेपालले मात्र तीन रन जोडेको थियो ।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित-२० ओभरमा पाँच विकेट गुमाउँदै १०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा भ्रमणकारी टोली नेपालले सात विकेट गुमाउँदा मात्र १०१ रन बनायो ।

नेपालको लागि पुजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाउँदा सम्झना खड्काले १६ बलमा १८ रन जोडिन् । कविता जोशीको नाममा १३ रन रह्यो । मलेसियाको लागि नुर डानियाले सर्वाधिक तीन विकेट लिइन् ।

यसअघि पहिलो इनिङ्समा मलेसियाकी कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २६ रन बनाइन् । उनले ४१ बलको सामना गर्दा एकै बाउन्ड्री प्रहार गर्न सकिनन् । ओपनर ऐना हमिजा हसिमाले २६, मास ऐसाले २५ रन बनाएका थिए । उसले अतिरिक्त ११ रन प्राप्त गरेको थियो । मलेसियाको इनिङ्समा कुनै छक्का प्रहार नहुँदा सात चौका भएको थियो ।

नेपालको लागि सुमन विष्टले सर्वाधिक दुई विकेट लिइन् । उनले ४ ओभरमा एक मेडनसहित २१ रन खर्चिइन् । पूर्व कप्तान रुविना क्षेत्रीले एक विकेट लिएकी थिइन् । त्यस्तै, पुजा महतो, रिया शर्मा, सीता रानामगर, मनिषा जोशी र राजमती ऐरी भने विकेट विहिन भए ।

मलेसिया भ्रमणमा रहेको नेपालले विश्वकप छनोटअघि पाँच खेलको टी-ट्वान्टी शृंखला खेलिरहेको हो । बाँकी खेलहरु ४, ५, ७ र ८ अक्टोबरमा हुने तालिका छ ।