सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ ।
सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् । राष्ट्रपतिमा चयन भएपछि संघीय संसदमा राष्ट्रपति पौडेलको यो पहिलो सम्बोधन हो ।
सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार १० दलको संयुक्त बैठक बोलाएर नीति कार्यक्रममा समेट्नुपर्ने विषयबारे सुझाव मागेका थिए ।
यसैबिच, राष्ट्रपति पौडेल नयाँ बानेश्वरस्थित संसद भवन जादा र फर्किदा बिना तामझाम जाने बताइएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेका अनुसार राष्ट्रपति पौडेलले कुनै तामझाम नगर्न निर्देशन दिएका छन् ।
सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएको उनको भनाइ छ ।