काठमाडौ उपत्यकासहित देशका विभिन्न भागमा बिहीबार साँझ बत्ती गएको छ । कम्तिमा डेढ घण्टा काठमाडौंसहित पोखरा, मध्य र पूर्वी नेपालका सबैजसो स्थान अन्धकार बनेको थियो ।
भारतबाट नेपालमा आयात गरिएको बिजुली लाइनमा समस्या आएपछि विद्युत आपूर्ति अवरुद्ध बनेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हाल भारतबाट बिजुली आयात भइरहेको चार सय केभी ढल्केबर-मुजप्फरपुर लाइनमा समस्या आएको थियो । समस्या भारततर्फ नै आएको प्राधिकरणले स्पष्ट पारेको छ ।
प्रणालीमा समस्या देखिएपछि नेपाल विद्युत् प्राधिरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य समाधानका लागि आफैं खटिएको जनाएका छन् । उनका अनुसार समस्या आउनासाथ भारतबाट सहयोग मागेर समाधान गरिएको थियो ।
यसैबीच सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकार र नेपाल विद्युत् प्राधिकरणको चर्को आलोचना गरेका छन् । पटक-पटक बिजुली गएर आजित भएपछि सर्वसाधारणले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका हुन् ।