संविधान सभाका अध्यक्ष एवंम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधान सभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । संविधान निर्माण प्रक्रियामा नेम्वाङले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिए। नेम्वाङको अन्त्येष्टिका दिन सरकारले सार्वजनिक बिदा दिने र उक्त दिन नेपालभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने पनि निर्णय गरेको छ ।
संविधान सभा अध्यक्ष नेम्वाङको आज बिहान ७१ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । परिवारका सदस्यहरुका अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका हुन । चिकित्सकले नेम्वाङलाई १:४० बजे मृत घोषणा गरेका थिए ।
नेम्वाङको अन्त्येष्टि बिहीबार
संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीबार) बिहान ११ बजे गरिने भएको छ । आज बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो । एमालेले उनको निधनको शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ । एमालेले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ । बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि मात्रै नेपाल आइपुग्दै छन् । १५ दिन अघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौं पुग्नेछन् । छोराहरू आएपछि त्रै अन्त्येष्टि गर्ने परिवारले आग्रह गरेका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यलय च्यासलमा राखिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । नेम्वाङका २ छोरी र २ छोरा छन् । छोरीहरू भने काठमाडौंमा नै छन् ।
यसैबिच, नेपाली कांग्रेसले आयाेजना गरेकाे बिपी साहित्य महाेत्सवको आजका सबै कार्यक्रम स्थगित गरेको छ । पार्टीका सहमहामन्त्री एवं बीपी साहित्य महोत्सव तयारी समितिका संयोजक बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले अन्तिम दिनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको हो ।