सेप्टेम्बर महिनामा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कका आधारमा नेपाल पर्यटन बोर्डले पर्यटन सिजन सुरु भएसँगै पर्यटकको संख्यामा बृद्धि भएको जनाएको हो । सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकहरूको सङ्ख्या ६ लाख ९२ हजार ३७२ पुगेको छ । यो कोभिड–१९ पूर्वको पर्यटक आगमनको ९०.९८ प्रतिशतको रिकभरी हो । सन् २०२३–२०३३ पर्यटन दशक घोषणा गरेको सरकारले यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
सिजन–अफ सिजन गरी ९ महिनामा करिब ७ लाख पर्यटक भित्रिएकोमा बाँकी ३ महिना राम्रो सिजन भएकाले सरकारी लक्ष्य पूरा हुने पर्यटन बोर्डको भनाइ छ । खासगरी अंग्रेजी वर्षको सुरुवातसँगै पर्यटन सिजन सुरु हुनेमा वैशाख, जेठ, असार र साउन चार महिना वर्षातका कारण अफ सिजन मानिन्छ । त्यसपछि भने शरद ऋतु लागेसँगै मौसमका कारण पर्यटक भित्रिन सुरु गर्छन् ।
बोर्डका अनुसार सेप्टेम्बर महिनामा भित्रिएका कूल पर्यटकहरूमध्ये सबैभन्दा बढी भारतबाट २८ हजार ६९४, चीनबाट ८ हजार १७४ , अमेरिकाबाट ७ हजार ३६४, बंगलादेशबाट ३ हजार ७१६, अस्ट्रेलियाबाट ३ हजार ६८५, बेलायतबाट ३ हजार ६४० जना भित्रिएका छन् ।
यसैगरी जर्मनीबाट २ हजार ८५२, साउथ कोरियाबाट २ हजार १८ जना र इजरायलबाट १ हजार ७३४ जना भित्रिएको बोर्डले जनाएको छ । यो तथ्याङ्क हवाई मार्ग हुँदै आउनेहरूको मात्र हो । स्थल मार्ग मार्फत आउने पर्यटकहरूको सङ्ख्या यसको दोब्बर हुने बोर्डको भनाइ छ ।